अमेरिकी शुल्कले रोक्न सकेन चीनको उत्पादन रफ्तार, कारखाना र बन्दरगाह पुन: फुल क्यापसिटीमा

चीनको झेजियाङ प्रान्तस्थित निङ्बोको झौशान बन्दरगाहको दापुकोउ कन्टेनर टर्मिनलमा कन्टेनर ढुवानी गरिँदै । तस्बिर : Nurphoto/Getty Images

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका शुल्कले निर्यातकर्ता र ग्राहकहरूलाई तर्साएको एक वर्षपछि चिनियाँ नयाँ वर्ष (लुनार न्यू इयर) अघि चिनियाँ कारखाना र बन्दरगाहहरू पुनः गुलजारमय भएका छन्।

सामान्यतया वर्षको सुरुवातमा चिनियाँ कारखानाहरूमा उत्पादन तीव्र हुन्छ किनकि उत्पादकहरू लामो चिनियाँ नयाँ वर्षको बिदा सुरु हुनुअघि अर्डर पूरा गर्न र सामान पठाउन हतारिन्छन् । ट्रम्पका शुल्कहरू जारी रहे पनि यस वर्षको बिदाअघिको चाप उस्तै बलियो देखिएको छ ।

ग्वाङ्डोङस्थित इलेक्ट्रोनिक्स उत्पादक कम्पनी एजिलियन टेक्नोलोजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनो अन्जोरानले शुल्कसम्बन्धी रोकथाम र धम्कीको वर्ष बितेपछि आफ्नो कारखाना झण्डै पूर्ण क्षमतामा चलेको बताए । 

उनले भने, ‘हामी अत्यन्त व्यस्त छौं, स्थिति फेरि त्यहीँ पुगेको छ मानौं शुल्क भन्ने कुरा छैन । अमेरिकी ग्राहकहरूले अन्य देशबाट किन्नेबारे सोचिरहेका छैनन्,’ अन्जोरानले भने । 

उनका अनुसार केही ग्राहकहरूले बिदाअघि उत्पादन र ढुवानी गर्न अतिरिक्त लागतसमेत तिर्नुपरेको छ ।

डोङगुआन सहरमा रहेको उनको कारखानाले आधाभन्दा बढी उत्पादन अमेरिका पठाउँछ र निर्यात गत वर्ष शुल्क लागू हुनुअघिकै स्तरमा कायम छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको तथ्याङ्क पछ्याउने चाइना बेज बुकका अनुसार कारखानाहरूले चिनियाँ नयाँ वर्षअघि अर्डर, उत्पादन र आम्दानीमा उल्लेख्य वृद्धि देखेका छन् ।

अनुसन्धान संस्थाको अनुमानअनुसार जनवरीमा औद्योगिक उत्पादन वार्षिक रूपमा बढेको  र घरेलु तथा निर्यात अर्डरहरू वार्षिक र मासिक दुवै आधारमा तीव्र गतिमा बढेका छन् । जनवरी–फेब्रुअरीको आधिकारिक उत्पादन तथ्याङ्क मार्चमा सार्वजनिक हुनेछ ।

एचएसबीसी बैंकका यातायात तथा लोजिस्टिक्स विश्लेषकहरूको टोलीका अनुसार फेब्रुअरी १ मा समाप्त भएको सातामा चीनका प्रमुख बन्दरगाहहरूले गत वर्षको तुलनामा ४० प्रतिशत बढी कन्टेनर ह्यान्डल गरेका छन् । यो १२ महिनाभन्दा बढी अवधिको सबैभन्दा तीव्र वार्षिक वृद्धि हो र २०२५ को साप्ताहिक औसत १० प्रतिशत वृद्धिभन्दा निकै माथि हो ।

चीनका महत्त्वपूर्ण समुद्री केन्द्रमध्ये एक निङ्बो बन्दरगाहमा टर्मिनलहरू ‘क्षमताभन्दा बढी सञ्चालन’ भएको, केही जहाजहरू २० प्रतिशतभन्दा बढी ओभरबुक भएको र कन्टेनर गेट–इनसमेत अस्थायी रूपमा रोकिएको निङ्बो चाइना इन्स्टिच्युट फर सप्लाइ चेन इनोभेसनका डिन जे गुओले बताए ।

गम्भीर ट्राफिक जामका कारण ट्रकिङ दर ८० प्रतिशतसम्म बढेको गुओले जानकारी दिए । उनका अनुसार धेरै कारखाना र फ्रेट फर्वार्डरहरूले शुक्रबारदेखि काम रोक्ने र अर्को बिहीबारदेखि पुनः सञ्चालन गर्नेछन् ।

वैश्विक सप्लाइ चेन तथा लोजिस्टिक्स विज्ञ वोल्फगाङ लेहमाकरले भने, ‘युरोप, उत्तर अमेरिका र एसियाका ढुवानीकर्ताहरूका लागि जारी परामर्शहरूले चीनबाट बिदाअघिको बुकिङ स्पष्ट रूपमा अगाडि सारिएको देखाउँछन् ।’

तर यस वर्ष लुनार न्यू इयर मध्य–फेब्रुअरीमा परेको र २०२५ मा जनवरी अन्त्यतिर परेको समय अन्तरका कारण ‘लो–बेस इफेक्ट’ ले पनि वृद्धिमा आंशिक प्रभाव पारेको उल्लेख गरिएको छ ।

बिदाअघि अर्डर र ढुवानी बढ्दा फ्रेट दरमा उछाल आएको छ । एचएसबीसीको फ्रेट मनिटर प्रतिवेदनअनुसार, जनवरी सुरुवातमा शाङ्घाइ कन्टेनराइज्ड फ्रेट सूचकाङ्क १ हजार ४०० देखि १ हजार ६५६ को दायरामा थियो, जुन पछिल्ला १५ वर्षको औसत १ हजार ३३७ देखि १ हजार ५६८ भन्दा माथि हो ।

एचएसबीसी विश्लेषकहरूका अनुसार ऐतिहासिक ढाँचाभन्दा तीन हप्ता अगावै दर उच्च बिन्दुमा पुगेकोले यस वर्ष बिदाअघिको ‘फ्रन्ट–लोडिङ’ चाँडै सुरु भएको संकेत गर्छ ।

प्रतिवेदनले जनवरीको अधिकांश समय र फेब्रुअरीसम्म अमेरिकातर्फ ठूला कन्टेनर ढुवानी २०२४ र २०२५ को सोही अवधिभन्दा माथि रहेको देखाएको छ । अमेरिकातर्फ र युरोपतर्फको एयर फ्रेट दरसमेत गत वर्षभन्दा उच्च थियो। फेब्रुअरी २ मा समाप्त सातामा बाल्टिक एक्सचेन्जको शाङ्घाइ पुडोङ आउटबाउन्ड सूचकाङ्क ५.३ प्रतिशतले बढ्यो ।

शुल्कसम्बन्धी तनाव केही कम भएसँगै कम्पनीहरूले नयाँ उत्पादन विकासलाई पनि अघि बढाएका छन् । अक्टोबरमा भएको उच्चस्तरीय भेटपछि चीनले वाशिङ्टनसँग एक वर्षे व्यापार ‘सम्झौता’ सुरक्षित गरेको थियो, जसले अमेरिकातर्फका सामानमा शुल्कलाई अपेक्षाकृत तल्लो स्तरमा राख्यो ।

२०२५ को अधिकांश समय चीनले अमेरिकातर्फ प्रत्यक्ष ढुवानी घटाउँदै दक्षिणपूर्वी एसिया र युरोपेली बजारतर्फ निर्यात बढाएको थियो ।

कारखानामा देखिएको चहलपहल आपूर्ति सञ्जाल विविधीकरणका प्रयासबीच आएको हो । धेरै बहुराष्ट्रिय कम्पनीहरूले दक्षिणपूर्वी एसियामा ‘चाइना–प्लस–वन’ रणनीति र मेक्सिको तथा युरोपका केही क्षेत्रमा ‘नियर–शोरिङ’ तीव्र पारे पनि चीनमा महत्त्वपूर्ण उत्पादन र सोर्सिङ कायम राखेका छन् ।

दक्षिण चीनका विभिन्न कारखाना भ्रमणपछि टाइडलवेभ सोलुसन्सका वरिष्ठ साझेदार क्यामरुन जोनसनले भने, ‘अटोमोबाइल, उपभोक्ता र खेलकुद सामग्री उत्पादकहरू निकै व्यस्त देखिए ।’

विदेशी खरिदकर्ताहरू केही अमेरिकी समेतले नयाँ अर्डर राखिरहेका छन् ।

ट्रम्पका व्यापक शुल्कका कारण गत वर्ष ‘प्यानिक बाइङ’ र अचानक अर्डर रोक्का जस्ता उतारचढाव देखिएका थिए । जोनसनका अनुसार व्यवसायीहरूले ‘अनिश्चितता सकिने प्रतीक्षामा सकेसम्म ढिला गरे तर अब अघि बढ्ने बाटो खोज्नै पर्ने अवस्था’ आएको छ ।

अन्जोरानका अनुसार नयाँ उत्पादन विकासमा अमेरिकी ग्राहकहरूको रुचि उल्लेख्य रूपमा पुनःस्थापित भएको छ । ‘धेरैले नयाँ उत्पादन योजना बनाएका थिए, तर अनिश्चितताका कारण परियोजना रोकिएका थिए,’ उनले भने, ‘अब अवस्था तुलनात्मक रूपमा स्थिर देखिन्छ ।’

Share News