काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र त्यस आसपासको क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न तथा सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन र आम सर्वसाधारणको निर्वाध आवतजावतमा बाधा नपरोस् भन्ने उद्देश्यले कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हडताल, र्याली, भेला तथा सभा नगर्न र नगराउन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गर्दै नारा, जुलुस तथा प्रदर्शनका कार्यक्रम आयोजना नगर्न आग्रह गरेका छन् । विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रशासनका अनुसार सरकारका सम्बन्धित निकायहरू निर्वाचनतर्फ परिचालित भएको अवस्थामा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा प्रदर्शन, भेला तथा र्यालीजस्ता गतिविधि गर्ने विषयमा केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत सूचना जारी भएको पाइएको छ । तर यसबारे जिल्ला प्रशासन कार्यालयमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम नभएको जनाइएको छ ।
निर्वाचन आचारसंहिता लागू भइसकेको वर्तमान अवस्थामा यस्ता कार्यक्रम गर्न बन्देज रहेको छ । साथै, यस्ता गतिविधिमा निर्वाचनविरोधी समूहको घुसपैठ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले कडाइ गरेको विज्ञप्तिमा भनिएको छ ।
आसन्न निर्वाचन, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्दै पर्वलाई भव्य रूपमा सम्पन्न गर्न तथा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित गर्न जुलुस, प्रदर्शन, हडताल, र्याली, भेला तथा सभा नगर्न, नगराउन र सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिलाई उक्साउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।