काठमाडौं । वाणिज्य बैंकहरूले फागुनमा पनि ब्याजदर घटाएका छन् । फागुन १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
फागुन महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.११ प्रतिशत घटेर औसत ४.५७ प्रतिशतमा झरेको छ । जबकि माघमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.६८ प्रतिशत थियो ।
यस्तै, फागुनमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०५ प्रतिशत घटेर ३.३३ प्रतिशतमा झरेको छ । यसअघि माघमा संस्थागततर्फ औसत ३.३८ प्रतिशत ब्याजदर थियो ।
माघ महिनाका लागि ९ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।
