विद्युतीय सवारीको भाडा १० प्रतिशतसम्म घटाउने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी (ईभी) को भाडा दर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ ।

हाल डिजेल बसको भाडा दर निर्धारण गरिए पनि ईभी बसको भाडा दर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो । डिजेल बसको तुलनामा ईभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडा दर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार ईभी बसको भाडा दरलाई व्यवस्थित र उपभोक्ता मैत्री बनाउन आवश्यक अध्ययन भइरहेको छ । ‘डिजेल बसको भाडा दर तय भइसकेको छ, तर ईभी बसका हकमा स्पष्ट व्यवस्था छैन । त्यसैले लागत र सञ्चालन पक्षको अध्ययन गरी १० प्रतिशतसम्म भाडा दर घटाउने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने ।

विभागले सरोकारवालासँग परामर्श गरी चाँडै नै उपयुक्त निर्णय लिने जनाएको छ । निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भाडा दर वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए । 

‘ईभी सवारीसाधनको हकमा ब्याट्री महँगो पर्ने भएकाले लागत पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ, डिजेल महँगो छ । तर ईभीमा ब्याट्री पनि महँगो छ । यी पक्षलाई मूल्याङ्कन गरेर वैज्ञानिक आधारमा भाडा दर अलिकति घटबढ हुने कुरामा सहमत छौँ,’ उनले भने । 

सञ्चालन खर्च, मर्मत सम्भार, इन्धन तथा प्रविधिसम्बन्धी लागतलाई पनि समेटेर वैज्ञानिक विधिअनुसार भाडा दर समायोजन गर्नुपर्ने विषयमा छलफल गरेर मात्रै निर्णय हुनुपर्नेमा उनले जोड दिए । 

Share News