काठमाडौं । अमेरिकी दूतावासले भिसा आवेदनका लागि सत्य बोल्न र नक्कली कागजात पेश नगर्न अनुरोध गरेको छ । बुधबार दूतावासले सूचना जारी गर्दै भविष्यमा अमेरिका यात्राका अवसरहरू सुरक्षित बनाउनुपर्ने बताएको छ ।
‘भिसा आवेदनसँग नक्कली कागजातहरू पेश गर्नुभयो भने तपाईं ठगी गर्दै हुनुहुन्छ र आफ्नो भविष्य जोखिममा पार्दै हुनुहुन्छ,’ दूतावासले भनेको छ, ‘हामी नक्कली कागजात विक्रेताहरूभन्दा एक कदम अगाडि रहेका छौं । नयाँनयाँ देखा परेका खतराहरू अनुसार आफूलाई तयार गरिरहेका छौं ।’
केही साताअघि प्रहरीले नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो ।
तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौँका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटका ४२ वर्षीय केशव फुँयाल, नुवाकोटका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँका ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल पक्राउ परेका थिए ।
प्रहरीले कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डबाट नक्कली भएको पुष्टि भएकाले उक्त नक्कली प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरेको थियो ।