काठमाडौं । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा २४ औं हिमालयन हाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव आयोजना गर्न लागेको छ ।
नाराका अनुसार महोत्सव यही फागुन १४ गतेदेखि १६ गतेसम्म आयोजना हुँदैछ । कार्यक्रम विगतका वर्षभन्दा पृथक गर्न खोजेको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा नेपालमा र्याफ्टिङको जग बसाल्ने संस्थापकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, कायाकिङतर्फ २ र र्याफ्टिङतर्फ १ गरी जम्मा ३ विधामा खेल हुँदैछ । खेलकुदमा ३० जनाभन्दा बढी ३० जना अन्तर्राष्ट्रिय खेलाडी र १४० जनाभन्दा बढी राष्ट्रिय खेलाडी (कायाकिङ र राफ्टिङ) गरी कुल १७० खेलाडीको सहभागिता रहने आयोजका भनाइ छ । आयोजकका अनुसार छिमेकी मुलुक भारतलगायत मलेसिया, भुटानलगायत देशका खेलाडीको उपस्थित रहनेछन् ।
कार्यक्रममा खेलाडी, स्वयंसेवक, निर्णायक र दर्शक गरी करिब ४०० देखि ६०० जनाको सहभागिता रहने लक्ष्य राखिएको छ । अन्तिम दिन प्रमुख अतिथिद्वारा विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ ।
यस कार्यक्रमको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गरी बढी सहभागिता बढाई यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा लैजाने र त्यही किसिमको प्राविधिक टोली बनाई नेपालकै महत्त्वपूर्ण राष्ट्रिय स्तरको महोत्सवको रूपमा लैजाने तयारी आयोजकको छ ।
नाराका अध्यक्ष कमलबहादुर ठकुरीले ‘२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव’ केवल एक प्रतियोगिता मात्र नभएर नेपालको ५० औं जलयात्रा इतिहासको उत्सव भएको बताए ।
र्याफ्टिङ त्रिशुली नदीमा हुने आयोजकले जनाएको छ । र्याफ्टिङ बेनीघाटदेखि खटौतीसम्म ९ किलोमिटरको रेस हुनेछ, जसमा १५ भन्दाबढी टिम सहभागी हुने अपेक्षा गरिएको छ । कायकिङमाकरिब ४०० मिटरको छोटो दुरीको प्रतिस्पर्धा रहेको छ ।
आयोजका अनुसार र्याफ्टिङमा पहिलो हुनेलाई ५० हजार दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ ।
कायक स्प्रिन्टअन्तर्गत पहिलो हुनेले १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पाउनेछन् । कायक क्रसअन्तर्गत पहिलो विजेतालाई ३५ हजार दोस्रोलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार पाउनेछन् ।
दुवै विधामा उत्कृष्ट हुने विजेताले भने १ लाख २५ हजार पुरस्कार पाउने नाराका उपाध्यक्ष शुक्रबहादुर लामाले बताए । उनका अनुसार दोस्रोलाई एक लाख रुपैयाँ तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।
खेलमा निःशुल्क रूपमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार इच्छुक सहभागीहरूले अनलाइन गुगल फर्ममार्फत दर्ता गर्न सक्नेछन् । दर्ता नाराको वेबसाइट, सामाजिक सञ्जालमा पनि उपलब्ध हुने उपाध्यक्ष लामाले बताए।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका श्रृंखलाहरूमा देखिएका कमजोरी सच्याउँदै यसपटक नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको जानकारी दिए।
‘सगरमाथा र हिमाललाई मात्र होइन, र्याफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने छ,’ ऐरले भने, ‘यसका लागि हाम्रा नदीहरूको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।’
बोर्डले यसलाई छुट्टै पर्यटन उत्पादनका रूपमा विकास गर्दै सातवटै प्रदेशमा विस्तारका लागि सहजीकरण गर्ने प्रतिबद्धतासमेत वरिष्ठ निर्देशक ऐरले जनाएका छन् ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत आयोजना र नदीजन्य उत्खननका कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताएका छन् । उनले भने, ‘नदीमा हुने साहसिक खेल गतिविधिका लागि सरकारले जलविद्युत आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी र्याफ्टिङलगायतका साहसिक खेल गतिविधि गर्न नदी छुट्याउनु पर्छ । यसका लागि नाराले पहल गर्नेछ भन्ने विश्वास लिएको छु ।’
नेपालमा राफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोशीमा गरेको जलयात्रा महत्त्वपूर्ण कोशेढुङ्गा बनेका थिए ।
सन् १९७५ मा हिमालयन रिभर एक्सपोलेशनमार्फत व्यावसायिक राफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो भने नारा वि.सं. २०४६ मा स्थापना भएको हो ।