काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले सन् २०२५ मा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १८.०८ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रूपैयाँले कम हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
सुबिसुको आम्दानी संरचना ग्राहक र सेवाका आधारमा विविधिकृत छ । सन् २०२५ मा कम्पनीको करिब ६१ प्रतिशत आम्दानी रिटेल (खुद्रा) ग्राहकबाट रहेको छ, जुन सन् २०२४ मा ५४ प्रतिशत थियो । कर्पोरेट ग्राहकबाट करिब ३१ प्रतिशत आम्दानी भएको छ भने टेलिभिजनबाट ५ प्रतिशत रहेको छ । साथै, प्रोजेक्ट आम्दानी सन् २०२४ मा ६ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर २ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ ।
प्रतिस्पर्धात्मक मूल्य, प्रवर्द्धनात्मक प्याकेज तथा छुटका कारण प्रतिग्राहक औसत आम्दानी भने निरन्तर घट्दो क्रममा रहेको कम्पनीले जनाएको छ । यो क्षेत्रको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई हेर्दा आगामी दिनमा पनि औसत आम्दानी दबावमै रहने र सञ्चालन नाफामा असर पर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ७७ करोड रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ९० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
ग्राहक संख्याको आधारमा सुबिसु नेपालका शीर्ष ६ इन्टरनेट सेवा प्रदायकभित्र पर्छ । सन् २०२५ डिसेम्बर मध्यसम्म कम्पनीसँग करिब २.५६ लाख सक्रिय इन्टरनेट ग्राहक रहेका छन् । ४जी विस्तार, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच वृद्धि र डिजिटल पहलहरूले यो क्षेत्रलाई गति दिएको छ । यद्यपि, बजारमा ६० भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी भए पनि वास्तविक रूपमा बजार अत्यधिक केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
२०२५ डिसेम्बर मध्यसम्म शीर्ष २० इन्टरनेट सेवा प्रदायक कम्पनीले कुल बजारको ९९.७२ प्रतिशत हिस्सा ओगटेका छन् । तीमध्ये शीर्ष ५ इन्टरनेट सेवा प्रदायक कम्पनीको संयुक्त बजार हिस्सा करिब ७१ प्रतिशत रहेको छ भने सुबिसुको बजार हिस्सा करिब ८ प्रतिशत रहेको कम्पनीले दाबी गरेको छ ।
ठूला कम्पनीहरूले मूल्य घटाउन सक्ने क्षमता, अनुकूल भुक्तानी सर्त र मूल्य युद्धका कारण सुबिसुलाई मार्जिन दबाब र ग्राहक संरक्षणमा चुनौती देखिएको छ । यसकारण, उत्कृष्ट ग्राहक सेवा, उत्पादन तथा सेवामा फरकपन, रणनीतिक साझेदारी र नवीन प्रविधिमा निरन्तर लगानी अपरिहार्य रहेको कम्पनीले जनाएको छ ।
निरन्तर ऋण आवश्यकताका कारण सुबिसुको ब्याज खर्च उच्च रहेको छ, जसले नाफामा प्रत्यक्ष असर पारेको कम्पनीले जनाएको छ । कम्पनीको ऋण फ्लोटिङ ब्याजदर प्रणालीमा आधारित भएकाले बैंक तथा वित्तीय संस्थाको आधार दरमा हुने उतारचढावले ब्याजदर अस्थिर बनाइरहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार दीर्घकालीन २ अर्ब २३ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन १ अर्ब ३९ करोड रुपैयाँ बैंक ऋण लिएको छ ।
सन् १९९९ अगस्टमा स्थापना भएको सुबिसु २५ वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय रहँदै आएको छ । कम्पनी सन् २०२२ मार्चमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीमा ७ जना अनुभवी प्रवर्द्धक रहेका छन्, जो सबै बोर्ड अफ डाइरेक्टर्सका सदस्य समेत हुन् । सुबिसुको बोर्ड अध्यक्ष सुधीर पराजुली रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउद रहेका छन् ।
हाल सुबिसुले उच्च गतिको फाइबर इन्टरनेट, केबल इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवासहित विभिन्न सूचना प्रविधिसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । सुबिसुको सेवा ७७ वटै जिल्लामा विस्तार भएको छ । काठमाडौं उपत्यकाभित्र १० वटा स्टेसन र देशभर ३१ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको कम्पनीसँग १०५ भन्दा बढी फ्रेन्चाइज तथा सहायक व्यवसायहरू समेत रहेका छन् ।