काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारेको बताएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रममा बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजस्व नोक्सानी गराउने वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारेको उल्लेख गरे ।
गभर्नरका अनुसार वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह छ । यसले सामाजिक–आर्थिक खाडललाई गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको छ । नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उनको तर्क छ ।
सीमानाविहीन वित्तीय अपराधले कानुनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्ने गरेको उनले बताए ।
यसलाई रोक्न प्रतिक्रियात्मकभन्दा पनि निरोधात्मक सुपरिवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपर्ने गरी जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘वित्तीय अपराधले सामाजिक–आर्थिक खाडललाई अझ फराकिलो बनाउँछ, मानव पूँजीको अवमूल्यन गर्छ र हाम्रा बालबालिका तथा युवाहरूको भविष्यलाई संकटमा पार्छ । कलिला मस्तिष्कहरूलाई सम्पत्ति शुद्धीकरणको माध्यमका रूपमा प्रयोग गर्न शोषण गर्ने, अवैध सञ्जालहरूमा भर्ती गर्ने र अपराधलाई अवसरका रूपमा प्रस्तुत गरिने वातावरणमा पुर्याउने क्रम बढ्दो छ ।’
गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारीजस्ता सबै क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षा–पंक्तिका रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आजको जोखिम टार्ने मात्र नभई भोलिको अनिश्चितता सामना गर्न सक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।