काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेका छन् । साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाबारे विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नमुना परियोजनाका रूपमा सुरु गरिएको यो कार्यक्रम बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा सञ्चालन हुनेछ । कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी साइबर सचेतना सत्र सञ्चालन गरिनेछ । साथै इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तिका तयार गरी सहभागी विद्यार्थीहरूलाई वितरण गरिनेछ । पहिलो चरण सफल भएपछि आगामी आर्थिक वर्षदेखि अन्य प्रदेशमा पनि विस्तार गरिने योजना रहेको छ ।
यस वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेसः एक्सप्लोरिङ द सेफ एन्ड रिस्पोन्सिबल युज अफ एआई’ रहेको छ ।
कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित एसआईटी सत्रमार्फत गरिएको हो । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल सुरक्षा र कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे विद्यार्थीहरूसँग अनुभव साटेका थिए ।
उनले भने, 'अभिभावकका रूपमा व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि अत्यन्त महत्वपूर्ण विषय हो । प्रविधि जीवनको अभिन्न हिस्सा बन्दै जाँदा त्यससँग सम्बन्धित जोखिमबारे सचेत रहनु आवश्यक छ । एसआईटी कार्यक्रममार्फत हामी युवालाई सुरक्षित र जिम्मेवार डिजिटल प्रयोगका लागि सक्षम बनाउन चाहन्छौँ ।'
नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले डिजिटल साक्षरता आजको समयको अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै युवालाई सुरक्षित अनलाइन व्यवहार सिकाउने अभियान दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताए ।
उनले भने, 'डिजिटल प्लेटफर्मले युवाको सोच र व्यवहारमा ठूलो प्रभाव पारिरहेका छन् । त्यसैले अनलाइन सुरक्षा सबैको साझा जिम्मेवारी हो । एसआईटी अभियानमार्फत हामी विद्यार्थीलाई जिम्मेवार डिजिटल प्रयोग र आफ्नो डिजिटल पदचिन्ह जोगाउने सीप प्रदान गर्दैछौँ ।'
हालसम्म कास्की, ललितपुर र भक्तपुरका नौ विद्यालयमा एसआईटी सत्र सञ्चालन भइसकेका छन् । ती सत्रबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ ।
एनसेल फाउन्डेसनको सुरक्षित तथा समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने प्रतिबद्धतासँग जोडिएको यो अभियानले डिजिटल साक्षरता र साइबर सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।