काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल कायम छन् । यहाँको ५ स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र-३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदानस्थलमा जम्मा ३६ जना मात्रै मतदाता छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्ला मुस्ताङमा समरस्थित समर आधारभूत मतदान स्थलपछि वारागुङ मुक्तिक्षेत्र-५ साङ्तास्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
साथै जिल्लामा सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका-४ जोमसोमको जनहित मतदान केन्द्रमा छन् । उक्त केन्द्रमा ६८९ जना मतदाता छन् । विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक हुँदा मुस्ताङमा कूल ११ हजार ३२८ जना मतदाता कायम भएका छन् । घरपझोङ गाउँपालिकामा ६ वटा, थासाङ गाउँपालिकामा ८ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा ,वारागुङ मुक्तिक्षेत्रमा ९ वटा र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् ।
मुस्ताङको घरपझोङमा कूल २ हजार ४९२ मतदाता छन् भने जनहित मतदान केन्द्रमा ६८९ जना र सबैभन्दा कम मतदाता छैरो आधारभूत विद्यालयमा ८१ जना मतदाता छन् ।
थासाङ गाउँपालिकामा २ हजार ९०७ जना मतदाता छन् । जसमध्ये सबैभन्दा बढी जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङमा ६५३ जना र सौरु आधारभूत विद्यालय सौरुमा सबैभन्दा ६५ मतदाता छन् ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १ हजार ५४२ जना मतदाता छन् । जसमध्ये लोघेकर-१ चराङस्थित चराङ आधारभूत विद्यालयमा सबैभन्दा बढी ३१९ मतदाता छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई हजार ३७६ जना मतदाता छन् । जसमध्ये जन शान्ति माध्यमिक विद्यालय कागबेनीमा ५२० जना र सबैभन्दा कम समर आधारभूतमा ३६ जना मतदाता छन् । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा २ हजार ११ जना मतदाता छन् । जसमध्ये सबैभन्दा बढी राष्ट्रिय आधारभूत विद्यालयमा ६२० जना र सबैभन्दा कम दिव्यज्ञान आधारभूत चुमजुङमा १३६ जना मतदाता छन् ।
निर्वाचन आयोगले बदर मत सङ्ख्या घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले यहाँका ५ पालिकाले सिफारिस गरेका मतदाता शिक्षा प्रदान गर्ने व्यक्तिलाई प्रशिक्षक तालिम बुधबारदेखि सुरु हुने जानकारी दिए । उन जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहले सिफारिस गरेको व्यक्तिलाई मतदाता शिक्षा प्रशिक्षण गराइएपछि यहाँका २५ वटै वडाहरूमा मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाइने उल्लेख गरे ।