काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरण हस्तान्तरण गरेको छ । परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणका लागि आवश्यक करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरण प्रदान गरेको हो ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट विभागको प्रयोगशालामा क्षति पुगेको थियो । सो क्रममा जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणमा प्रयोग हुने उपकरणहरू पनि क्षतिग्रस्त हुँदा परीक्षण कार्यमा कठिनाइ भइरहेको थियो । उपकरण हस्तान्तरणपछि विभाग र जुत्ता तथा गार्मेन्ट उद्योग दुवैलाई सहज हुने विश्वास गरिएको छ ।
माघ २७ गते मंगलबार नेपाल गुणस्तर तथा नापतौल विभागमा आयोजित कार्यक्रममा परिसंघले उक्त उपकरणहरू हस्तान्तरण गरेको हो ।
कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी वस्तुको उत्पादन तथा बजारीकरणमा गुणस्तर प्रमाणीकरण अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उत्पादन प्रमाणीकरण प्रक्रियालाई सहज बनाइ निजी क्षेत्रका उद्यमीलाई व्यवसाय प्रवर्द्धनमा सघाउने उद्देश्यले उपकरण उपलब्ध गराइएको बताए । उनले यस प्रकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै उपकरण ग्रहणका लागि विभाग तथा विभागका महानिर्देशकप्रति आभार व्यक्त गरे ।
उक्त अवसरमा विभागका महानिर्देशक कुमारी ज्योति जोशी भट्टले जेनजी आन्दोलनका क्रममा विभागमा नोक्सानी पुग्नुका साथै प्रयोगशालाका सामग्री तथा उपकरण नष्ट भएकाले स्वदेशी वस्तुको गुणस्तर परीक्षणमा समस्या भइरहेको बताए । आफ्नै प्रयोगशालामा परीक्षण सुविधा अभावका कारण छिमेकी मुलुकमा नमुना पठाउनुपर्ने बाध्यता रहेको र यसबाट समय तथा लागत दुवै बढ्ने भएकाले उत्पादनको प्रतिस्पर्धी क्षमतामा असर परेको उनले बताए ।
‘नेपाल उद्योग परिसंघले प्रयोगशालाका लागि आवश्यक यन्त्र तथा उपकरण उपलब्ध गराउने पहलले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणलाई सहज बनाउनेछ,’ उनले भने, ‘यसका लागि परिसंघप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । यस्तो पहलले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेछ।’
उपकरण हस्तान्तरण कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष सुरज बन्जाडेसहित परिसंघ तथा विभागका अधिकारीहरूको सहभागिता रहेको थियो ।