काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाली सेनालाई निर्देशन दिएकी छन् ।
सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार (आज) देखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रबीच समन्वयको अभाव देखिएको स्वीकार गरिन् ।
उनले अघिल्ला अनुभवबाट पाठ सिक्दै यसपटक सुरक्षा निकायहरूबीच स्पष्ट समन्वय, सूचना आदान–प्रदान र जिम्मेवारीको विभाजन प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।
‘विगतमा देखिएका कमजोरी, त्रुटि वा रिक्तता दोहोरिनु हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता कायम राख्न सुरक्षामा कुनै सम्झौता हुँदैन ।’
प्रधानमन्त्रीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाको भूमिका निर्णायक हुने उल्लेख गर्दै सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।
बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित रणनीति, कार्ययोजना र अन्तर–निकाय समन्वयबारे छलफल हुने बताइएको छ ।