काठमाडौं । अमेरिकाले गत हप्ता सुनको बजारमा देखिएको तीव्र उतार–चढावका लागि चिनियाँ व्यापारीहरूलाई जिम्मेवार ठहराएको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले चीनमा मार्जिन आवश्यकताहरू कडा बनाइँदै गएको बताएका छन् । यसकारण सुनको बजार ‘क्लासिकल स्पेकुलेटिभ ब्लोअफ’ (तर्कहीन तीव्र वृद्धि) जस्तो देखिन थालेको उनको भनाइ छ ।
यो अभिव्यक्ति त्यतिबेला सार्वजनिक भएको हो, जब बहुमूल्य धातुहरू उच्चस्तरमा पुगेका थिए । विशेषज्ञहरूले यस उछाललाई सट्टेबाजीको चाप, विश्वव्यापी भू–राजनीतिक उतारचढाव र फेडरल रिजर्भको स्वतन्त्रता सम्बन्धी व्यापक चिन्तासँग जोडेर व्याख्या गरेका छन् ।
बेसेन्टले फक्स न्युजको सन्डे मोर्निङ फ्युचर्स कार्यक्रममा भने, ‘सुनको चाल हेर्दा चीनमा कुरा अलि नियन्त्रणबाहिर गएको देखिन्छ ।’
‘उनीहरू मार्जिन आवश्यकताहरू कडा गर्न बाध्य भएका छन् । त्यसैले सुन मलाई क्लासिकल स्पेकुलेटिभ ब्लोअफ जस्तै देखिन्छ,’ उनले थपे ।
सुनमा आएको उतारचढावले डलरलाई जनवरीको सुरुवातपछि पहिलो पटक साप्ताहिक लाभ दिलाउन मद्दत गर्यो । उता डाउ जोन्स इन्डस्ट्रियल एभरेज पहिलो पटक ५० हजार अंक नाघ्यो, जसले अमेरिकी अर्थतन्त्र र कर्पोरेट आम्दानीप्रति लगानीकर्ताको लगाव देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बेसेन्टले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको सन्दर्भ दिँदै डाउ जोन्सको रेकर्डलाई अमेरिकी अर्थतन्त्र उकालो चक्रतर्फ अघि बढिरहेको प्रमाणका रूपमा प्रस्तुत गरे, जसको फाइदा आम अमेरिकी जनताले पाउने उनको भनाइ छ ।
फेडरल रिजर्भको नीतिबारे उनले केन्द्रीय बैंकले आफ्नो ब्यालेन्स शीट घटाउने कुनै पनि प्रयासमा सावधानी अपनाउने आशा व्यक्त गरे । उनले भने, ‘म उनीहरूबाट कुनै पनि हतारो निर्णयको अपेक्षा गर्दिनँ ।
‘उनीहरू एम्पल–रेजीम नीतिमा गइसकेका छन्, जसका लागि ठूलो ब्यालेन्स शीट आवश्यक पर्छ। त्यसैले मलाई लाग्छ, उनीहरूले के गर्ने भन्ने निर्णय गर्न कम्तीमा एक वर्ष समय लिनेछन्, ’ उनले थपे ।
बेसेन्टले भने कि फेडरल रिजर्भका आगामी प्रमुखका रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनीत केभिन वार्श निकै स्वतन्त्र हुनेछन् । तर उनी यस तथ्यप्रति सचेत रहनेछन् कि फेड अमेरिकी जनताप्रति जवाफदेही छ ।
हालैका दिनहरूमा सुनको मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । विश्लेषकहरूले यसलाई चीन र भारतमा बढ्दो माग, अमेरिकी डलरको सापेक्ष कमजोरी र वैश्विक आर्थिक अनिश्चितताको संयोजनको परिणाम मानिरहेका छन् । लगानीकर्ताहरू सुनलाई सुरक्षित सम्पत्ति मान्दै त्यसमा आकर्षित भएका कारण पनि मूल्य बढ्दो छ ।
विशेषज्ञहरूले भविष्यमा सुनको मूल्य अझ उच्च स्तरमा पुग्ने सम्भावना औंल्याएका छन् । यदि अमेरिकी–चिनियाँ व्यापार तनाव र विश्वव्यापी वित्तीय अनिश्चितता निरन्तर रह्यो भने सुनले लगानीकर्ताका लागि अझै आकर्षक सुरक्षित विकल्पको रूपमा काम गर्न सक्छ ।