सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने तस्कर समूहका चार जना पक्राउ

काठमाडौं । पर्सामा सशस्त्र प्रहरीमाथि आक्रमण गरी फरार रहेका तस्कर समूहका चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साेमबार साँझ तीन जना र मंगलबार बिहान एक जना तस्कर पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार घटनामा धेरै जना संलग्न रहेकाले हाल पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । अन्य फरार तस्करको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सोमबार वीरगन्ज–१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको थियो । मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्सको गोदाममा छापा मार्ने क्रममा झडप भएको थियो ।

सशस्त्र प्रहरीले छापामारीका क्रममा करिब १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरका साडी तथा अन्य कपडा बरामद गरेको थियो। आक्रमणका क्रममा तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिलाई पनि छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ ।

Share News