पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५५० भन्दा बढी राइडर सहभागी हुने

काठमाडौं । नेपालको साहसिक तथा अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौँ नेपाल राइडर्स मिट आयोजना हुने भएको छ । आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदावरी नगरपालिका–२ स्थित चापाखर्कमा कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।

नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले नेपाल राइडर्स मिटबारे जानकारी गराएका हुन् । उनका अनुसार कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायत मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुनेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मोटरसाइकल राइडिङ नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण माध्यम हुने बताए । उनले यस्ता कार्यक्रमले परम्परागत पदयात्रा र पर्वतारोहणभन्दा बाहिरका पर्यटन उत्पादनलाई प्रवर्द्धन गर्दै रोड ट्रिप, साहसिक पर्यटन तथा सीमापार पर्यटन विस्तारमा सहयोग पुग्ने उल्लेख गरे ।

थपलियाले भने, 'नेपाल राइडर्स मिटले साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्नेछ । भारतमा बढ्दो बाइक राइडिङ संस्कृतिलाई लक्षित गरी नेपालमा राइडर भित्र्याउन सके पर्यटक आगमनमा उल्लेखनीय वृद्धि हुनेछ । यसले नेपालको संस्कृति र प्रकृतिसँग नजिकबाट साक्षात्कार गर्ने अवसर पनि प्रदान गर्छ ।'

त्यसैगरी आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल तथा द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेले नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्वपूर्ण पर्व भएको बताउँदै बाइक राइडिङलाई पर्यटन प्रवर्द्धनको प्रमुख उत्पादनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनीहरूले यस कार्यक्रमले राइडरबीच भाइचारा विकास गर्नुका साथै नेपालको संस्कृति र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट सुरुआतमा सीमित सहभागिताबाट सुरु भएको भए पनि हाल ५०० भन्दा बढी राइडर सहभागी हुने स्तरमा विस्तार भएको छ । यस कार्यक्रममार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग तथा आतिथ्य संस्कृतिको प्रचार–प्रसार गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

यसअघि बर्दिया, चितवन, मनाङलगायत विभिन्न स्थानमा आयोजना भइसकेको नेपाल राइडर्स मिटले डिजिटल प्लेटफर्म, राइडर नेटवर्क तथा सञ्चारमाध्यममार्फत नेपाली पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

Share News