नेपालमा साना गाडीको कथा बदल्ने ह्युन्डाई स्यान्ट्रो

काठमाडौं । नेपाली साना गाडीको बजारमा नयाँ पहिचान स्थापित गर्न सफल ह्युन्डाई स्यान्ट्रोले २५ वर्षे यात्रा पूरा गरेको छ । सन् १९९९ मा ह्युन्डाई इन्डियाले पहिलो मोडेलका रूपमा सार्वजनिक गरेको स्यान्ट्रो नेपालमा प्रवेश गर्दा साना गाडीको बजारमा जापानी ब्रान्डहरूको प्रभुत्व रहेको थियो । स्यान्ट्रो नेपालमा प्रवेश गरेसँगै भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकास हुँदै थियो ।

दैनिक प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको आरामदायी स्यान्ट्रो सुरुदेखि नै फरक पहिचान बनाउन सफल भयो । नेपाल ह्युन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार बनेसँगै यो मोडेल ह्युन्डाई र नेपाल दुवैका लागि गर्वको विषय बनेको थियो ।

स्यान्ट्रोले नेपाली ग्राहकहरूको ह्याचब्याकप्रतिको धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सजिलो तथा नेपाली सडक र पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुन सक्छ भन्ने सन्देश स्यान्ट्रोले दिएको थियो । समयसँगै स्यान्ट्रो केवल एउटा सवारीसाधन मात्र नभई नेपाली परिवारहरूको विश्वासिलो साथीका रूपमा स्थापित भयो ।

स्यान्ट्रोबाट सुरु भएको यही भरोसाको आधारमा ह्युन्डाईले नेपालमा आफ्नो बजार विस्तार गर्दै आएको छ । आज स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा ह्युन्डाईले एक प्रतिष्ठित मोडेल मात्र होइन, त्यसबाट सुरु भएको विश्वासको विरासतलाई समेत सम्मान गरिरहेको जनाएको छ ।

यस विशेष अवसरमा ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका ह्युन्डाई स्यान्ट्रो प्रयोगकर्ताहरूलाई ह्युन्डाई नेपालसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । छनोटमा परेका ग्राहकहरूले ह्युन्डाईद्वारा तयार गरिएको विशेष सरप्राइजको अनुभव गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

Share News