काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि खुसीको खबर छ । बहुप्रतीक्षित तथा लोकप्रिय दुई नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ अब डिशहोम गो एपमार्फत हेर्न सकिने भएको छ ।
पारिवारिक भावना, प्रेम र सामाजिक यथार्थलाई समेटिएका यी दुवै चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । डिजिटल प्लेटफर्ममार्फत रिलिज भएसँगै नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकले सहज रूपमा यी चलचित्र हेर्न पाउने भएका छन् ।
‘नाइ नभन्नु ल ६’ नेपाली चलचित्रको चर्चित शृंखलाको छैटौँ संस्करण हो । विकासराज आचार्यद्वारा निर्देशित यस चलचित्रमा आँचल शर्मा, आशीर्वाद बी. क्षेत्री, सरोज खनाल र प्रियंका कार्की मुख्य भूमिकामा छन् । चलचित्रका निर्माता विकासराज आचार्य र विष्णु मणि दाहाल हुन् ।
चलचित्रले अभिनेता शिशिर र उनकी छोरी दित्याबीचको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, प्रेम र जीवनका उतार–चढावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ । दित्याकी आमासँग जोडिएको रहस्यले कथालाई थप रोचक बनाएको छ । पारिवारिक दर्शकका लागि उपयुक्त यस चलचित्रले रिलिजपछि सकारात्मक प्रतिक्रिया पाएको थियो ।
त्यसैगरी, ‘प्रसाद २’ नेपाली समाजका संवेदनशील सामाजिक विषयहरूलाई निरन्तरता दिने सशक्त चलचित्र हो । सुदर्शन थापाको निर्देशन तथा सुदर्शन बस्नेतको निर्माणमा बनेको यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी प्रमुख भूमिकामा छन् ।
पहिलो भागको कथालाई अगाडि बढाउँदै ‘प्रसाद २’ ले जातीय विभेद, अन्तरजातीय विवाहका चुनौती र राजनीतिक द्वन्द्वजस्ता विषयलाई गहिराइमा प्रस्तुत गरेको छ । समाज परिवर्तनको संघर्ष र मानवीय संवेदनालाई प्रभावशाली रूपमा उठान गरेको यस चलचित्र समीक्षक तथा दर्शक दुवैबाट प्रशंसित बनेको थियो ।
यी दुवै चलचित्र डिशहोम गोमार्फत नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकले सहज रूपमा हेर्न सक्नेछन्। डिशहोम गो एक आधुनिक डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष खेलकुद, छोटा चलचित्र तथा कोरियन ड्रामा लगायत विविध सामग्री उपलब्ध छन् । एकै एपमार्फत गुणस्तरीय मनोरञ्जन लिन चाहने दर्शकका लागि डिशहोम गो उपयुक्त गन्तव्य बनेको छ ।