काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सुरु गरेको छ । कम्पनीमा रहेको ग्राहक विवरण अब ग्राहक स्वयंले अनलाइन प्रणालीमार्फत भरेर अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको हो ।
गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको थियो । नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध गराइएको हो ।
यस सेवाअन्तर्गत हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । विवरण भर्दा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी व्यक्तिगत जानकारी तथा आफूले धेरै सम्पर्क गर्ने पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
अहिले पनि धेरै ग्राहकहरूको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यस सेवाबाट विवरण सच्याउन र अद्यावधिक गर्न सहज हुने कम्पनीले जनाएको छ । यसले अन्य सरकारी निकायमा समेत आफ्ना विवरण अद्यावधिक राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले यो सेवाले ग्राहकलाई सरल, सुरक्षित र छिटो माध्यमबाट विवरण अद्यावधिक गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।