नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ६५ हजार अवलोकनकर्ता सहभागी

काठमाडौं । नेपालको निर्माण क्षेत्रको विकासलाई केन्द्रमा राख्दै आयोजना गरिएको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आइतबार सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा माघ २२ गतेदेखि सञ्चालनमा आएको प्रदर्शनीमा करिब ६५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री तथा सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको थियो । २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सामग्री तथा सेवाहरू प्रदर्शन गरिएको थियो ।

विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुँदै आएको नेपाल बिल्डकनले सुरुआतदेखि नै नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि तथा सेवाहरू नेपाली बजारमा भित्र्याउन सहयोग पुर्याउँदै आएको आयोजकले बताएका छन् ।

प्रदर्शनीमा वास्तुकला हार्डवेयर, एल्युमिनियम प्रोफाइल, मार्बल, टायल्स, सेनेटरी सामग्री, आधुनिक किचन, छाना सामग्री, क्ल्याडिङ, लिफ्ट, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, निर्माण रसायन, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका थिए ।

निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी भएको सहभागीहरूको भनाइ छ ।

प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको थियो भने ‘पावर्ड बाई’ साझेदारका रूपमा लुम्बिनी सेरामिक्स (लेमिनार टाइल्स) रहेको थियो ।  

Share News