काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी एनभीडीयाले कृत्रिम बौद्धिकता (एआई) बुममा खेलेको निर्णायक भूमिकाका कारण २०२५ को अक्टोबरमा क्षणिक रूपमा ५ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पार गर्दै कर्पोरेट इतिहासमै पहिलो कम्पनी बन्न सफल भयो।
विश्वभरका कम्पनीहरूमा एआई चिप्सको अत्यधिक मागका कारण एनभीडीयाले डेटा सेन्टर चिप्सको राजस्वका आधारमा ८१ प्रतिशत बजार हिस्सा कब्जा गरिसकेको छ । यो तथ्यांक अन्तर्राष्ट्रिय डाटा कर्पोरेसन (आईडीसी) को अनुसन्धानमा आधारित हो । यही दबदबाले एनभीडीयाको सेयरमा निकै वृद्धि भएको छ । नोभेम्बर २०२२ मा ओपनएआईको च्याटजीपीटी सार्वजनिक भएयता सेयर मूल्य १२ गुणासम्म बढेको छ ।
अक्टोबर त्रैमासमा एनभीडीयाको बिक्री र नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले वृद्धि भयो, जुन वाल स्ट्रिटका अनुमानभन्दा निकै माथि थियो । गत महिना कम्पनीले नयाँ पुस्ताको ‘भेरा रुबिन’ चिप सार्वजनिक गर्यो, जसलाई एनभीडीयाको अर्को ठूलो वृद्धि इञ्जिनका रूपमा हेरिएको छ । कम्पनीले सन् २०२६ मा कुल बिक्री नयाँ रेकर्डमा पुग्ने अपेक्षा गर्दै झन्डै ५०० अर्ब डलर राजस्व प्रक्षेपण गरेको छ ।
तर यति ठूलो सफलताबीच पनि एनभीडीयाले विभिन्न चुनौतीहरू सामना गरिरहेको छ, जस्तै– बढ्दो प्रतिस्पर्धा, एआई बबलको डर र लगातार तीव्र वृद्धि पछि पनि परिणाम देखाइरहनुपर्ने दबाब ।
एनभीडीयाको उदय
एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले सन् १९९३ मा भिडियो गेमका लागि प्रयोग हुने ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) मा केन्द्रित भएर कम्पनी स्थापना गरेका थिए । पछि यी जीपीयूहरू एआई ट्रेनिङका लागि अत्यन्त उपयुक्त भए ।
तर एनभीडीयाको वास्तविक ब्रेकथ्रु भने च्याटजीपीटी सार्वजनिक भएपछिमात्रै भयो, जसलाई आजको एआई बुमको सुरुआत मानिन्छ ।
त्यसपछि एनभीडीयाको सेयर तीव्र गतिमा उकालो लाग्यो । सन् २०२३ मा स्थापना भएको तीन दशकपछि एनभीडीया १ ट्रिलियन डलरको मूल्यांकन पुग्ने विश्वको नवौं कम्पनी बन्यो । पछिल्ला महिनाहरूमा केही मूल्य घटे पनि एनभीडीया अझै पनि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । हाल एनभीडीया ४.५ खर्ब डलरको कम्पनी हो ।
एनभीडीयाको सफलता जीपीयूमा मात्र सीमित छैन
एनभीडीयाको सफलता केवल जीपीयूमा सीमित छैन । कम्पनीले एआई वर्कलोडका लागि आवश्यक अन्य चिप्ससहितका पूर्ण सर्भर र्याक र डेभलपरहरूले चिपको अधिकतम उपयोग गर्न सक्ने सफ्टवेयर प्लेटफर्म पनि उपलब्ध गराउँछ ।
अब एनभीडीयाले भविष्यका डाटा सेन्टरलाई ‘एआई फ्याक्टरीज’ को रूपमा विकास गर्ने आधार तयार गरिरहेको छ । साथै रोबोटिक्स, क्वान्टम कम्प्युटिङ र स्वचालित सवारी साधनजस्ता उदीयमान प्रविधिको केन्द्रमा आफूलाई उभ्याउने रणनीतिमा छ ।
गत वर्ष एनभिडियाले उबरसँग स्वचालित गाडी विकासका लागि साझेदारी गर्यो भने अमेरिकी ऊर्जा विभाग सँग मिलेर एआई चिप प्रयोग हुने क्वान्टम सुपरकम्प्युटर विकास गर्ने सम्झौता पनि गर्यो ।
विशाल लगानी र रणनीतिक साझेदारी
सन् २०२५ को अधिकांश समय एनभीडीयाले अन्य प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सम्झौता र लगानी तीव्र बनायो । अप्रिलमा कम्पनीले आफ्ना साझेदारहरूसँग मिलेर अमेरिकामा ५०० अर्ब डलर बराबरको एआई पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक गर्यो ।
सेप्टेम्बरमा एनभीडीयाले इन्टेलमा ५ अर्ब डलर लगानी गर्दै कस्टम डाटा सेन्टर विकासको घोषणा गर्यो । त्यसको केही दिनमै ओपनएआईसँग रणनीतिक साझेदारी गर्दै १०० अर्ब डलरसम्म लगानी गरेर एनभीडीयाका चिप्समा आधारित एआई डाटा सेन्टर विस्तार गर्ने सहमति गरियो । पछिल्ला दिनहरूमा दुई कम्पनीबीच तनावको चर्चा भए पनि दुवै पक्षका कार्यकारीहरूले सम्झौताप्रति प्रतिबद्धता दोहोर्याएका छन् ।
एनभीडीयाको वैश्विक महत्त्वाकांक्षा
एनभीडीयाका चिप्स विश्वव्यापी एआई उद्योगको मेरुदण्ड बन्दै जाँदा कम्पनीको साझेदारी उत्तर अमेरिकाभन्दा बाहिर पनि तीव्र रूपमा विस्तार भइरहेको छ ।
युरोपमा एनभीडीया फ्रान्स, जर्मनी, इटाली र बेलायतका सरकार तथा टेलिकम कम्पनीहरूसँग मिलेर ‘सार्वभौम एआई पूर्वाधार’ र एआई प्रविधि केन्द्र निर्माणमा जुटेको छ । दक्षिण कोरियामा भने सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै २६ हजारभन्दा बढी चिप्स तैनाथ गर्ने योजना अघि बढाइएको छ ।
तर एआई बबलको डरले बजारमा अनिश्चितता बढाइरहेको छ, जसलाई हुआङले बारम्बार अस्वीकार गर्दै आएका छन् । यससँगै एएमडीजस्ता प्रतिस्पर्धी र आफ्नै चिप विकास गरिरहेका ठूला ग्राहकबाट दबाब पनि बढ्दो छ ।
चीन र भू–राजनीतिक चुनौती
एक समय एनभीडीयाको ठूलो बजार रहेको चीनमा अमेरिकी प्रविधि नियन्त्रणका कारण उच्च क्षमताका चिप्स निर्यातमा रोक लाग्दा बिक्रीमा ठूलो असर परेको छ । हुआङले राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही प्रतिबन्ध उल्ट्याउन मनाए पनि चीन सरकारले ती चिप्स खरिद गर्न दिने/नदिने विषय अझै स्पष्ट गरेको छैन ।
यस्ता चुनौतीबीच पनि एनभीडीया रोकिएको छैन । हाल उत्पादनमा रहेको रुबिन चिप सन् २०२६ को दोस्रो अर्धभागमा बजारमा आउँदैछ । माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेस, गुगल क्लाउड र कोरवेवजस्ता प्रमुख क्लाउड प्रदायकहरू यसको पहिलो प्रयोगकर्ता हुनेछन् ।
व्यवसाय विविधीकरणको प्रयासस्वरूप हुआङले स्वचालित ड्राइभिङ र रोबोटिक्सका लागि नयाँ एआई मोडलहरू पनि सार्वजनिक गरेका छन् ।