म्याग्दीमा साढे ३१ करोडको सुन्तला उत्पादन, गत वर्षको तुलनामा ५.५६ प्रतिशत घट्यो

काठमाडौं । यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १०.५ मेट्रिक टनका दरले ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । ‘४३० हेक्टर जमिनको बगैँचामा सुन्तला उत्पादन भएको छ । किसानले सरदर प्रतिकिलो ७० रुपैयाँका दरले ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्,’ उनले भने ।

म्याग्दीको ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको छ । गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले ४ हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो ।

गत वर्षको तुलनामा ५.५६ प्रतिशतले उत्पादन घटेको हो । यस वर्ष विभिन्न रोगकीराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बास्तोलाले बताए । ‘यस वर्ष मौसमले साथ दिएको हो । रोग, कीरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ,’ बास्तोलाले भने, ‘एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तला खेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।’

सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । गत वर्ष प्रतिकिलो ६५ रुपैयाँका दरले सुन्तला बेचेका किसानले यस वर्ष प्रतिकिलो ५ रुपैयाँ बढी मूल्यमा बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका-३ भोर्लेनीका किसान ओम गिरीले बताए । गिरीले आफ्नो बगैँचाबाट यस वर्ष ११ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको बताए । 

यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् । 

Share News