इंग्ल्यान्डविरुद्ध नेपालको झिनो हार

काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ ।

आइतबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १८० रनमात्र बनाउन सक्यो । 

जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता भए पनि नेपालले अन्तिम ओभरमा ५ रनमात्र बनाउन सक्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका हुन् ।

कप्तान रोहित पौडेलले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन बनाए । लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

त्यसैगरी, आरिफ शेखले आठ बल खेल्दा एक छक्कासहित १० रन जोडे । ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाए । 

इंग्ल्यान्डका लियम ड्वसनले दुई विकेट लिए । चार ओभरमा उनले २१ रन खर्चिए । जोफ्रा आर्चर, लुक वुड, विल ज्याक र साम करनले समान एक विकेट विकेट लिए।

टस जितेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल बनाएको थियो ।

इंग्ल्यान्डका ज्याकोब बेथेलले ५५ रन जोडे । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे ।  कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन् ।

त्यसैगरी, जस बटलरले १७ बलमा २६ रन बनाए । 

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल हो ।

Share News