काठमाडौं । ओखलढुंगामा वृद्ध दम्पती हत्या गर्ने २ जना पक्राउ परेका छन् । गत माघ १२ गते चिशंखुगढी ६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या गरेको आरोपमा २ जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिकाकै ३४ वर्षीय धनबहादुर मगर र १७ वर्षीय बालक रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।
प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका १५ डल्लुको लखतीर्थ मार्गबाट पक्राउ गरेको हो ।
मगर र बालक लुटपाट गर्ने उद्देश्यले काठमाडौंमै योजना बनाएर हत्या गरेको खुल्न आएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । गाउँघरमा अन्य व्यक्तिहरूले चिन्न सक्ने भनेर उनीहरूले राति हत्या गरेर फरार भएका थिए ।
हत्या गरेर भाग्दा काठमाडौंबाट गएको बाटो प्रयोग गरेको श्रेष्ठले जानकारी दिए ।
‘उनीहरूले बस टिकट काट्दासमेत अर्को नाम प्रयोग गरेर टिकट लिएका थिए,’ उनले भने ।
उक्त हत्याको अनुसन्धान गर्न कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रहरीको टोलीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो ।
गत १९ गते थप अनुसन्धानको विज्ञ टोली माग भएको र ब्यूरोबाट थप टोली गएर अनुसन्धान गरेको थियो ।