‘फेक रेस्क्यू’ को आरोपमा डा. गिर्वाणराज तिमिल्सिना पक्राउ

फाइल तस्बिर ।

काठमाडौं । ‘फेस्क रेस्क्यू’  गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको हो । पर्वत मोदी गाउँपालिका २ का तिम्सिनालाई प्रहरीले श्रीधि अस्पताल लाजिम्पाटबाट पक्राउ गरेको हो । 

सीआईबीले माघ ११ गते पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो ।

यसअघि सीआईबीले माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसीलाई पक्राउ गरिसकेको छ।

उनीहरूले एउटै नियमित वा चार्टर्डबाट पाँच जनासम्म ल्याई फरक(फरक उद्दार गरेको बताएर करौडौंको बीमा दाबी गरेको देखिएको थियो ।

त्यस्तै, अनुसन्धानबाट एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक(फरक समयमा उद्धार गरेको भन्दै फाइदा उठाएको पनि देखिएको थियो। 

उनीहरूले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा समेत असर पर्ने र बीमा सुविधासमेत बन्द हुन सक्ने गरेर काम गरेका थिए ।

पक्राउ परेकाविरुद्ध राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फेक रेस्क्युको असर : बीमा प्रिमियम दोब्बर, नेपाल ‘नो-गो डेस्टिनेसन’ बन्ने खतरा

पौने ३ अर्बको बीमा रकम पचाउने षडयन्त्र, सीआईबीले गर्यो भण्डाफोर
 

Share News