एशियन फर्मास्युटिकल्सको आम्दानी सवा २ अर्ब नाघ्यो, मर्जरपछि बैंकको ऋण बढ्यो

काठमाडौं । विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको एशियन फर्मास्युटिकल्स प्रालिले एक वर्षमै सवा दुई अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १२.१९ प्रतिशत अर्थात् २४ करोड ६० लाख रुपैयाँले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीले २ अर्ब १ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सन् १९९७ मा स्थापना भएको एशियन फर्मास्युटिकल्सले दुई दशकभन्दा बढी समयदेखि औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यस अवधिमा कम्पनीले सुदृढ आपूर्ति शृंखला, व्यापक वितरण सञ्जाल तथा अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोली विकास गरेको जनाएको छ । कम्पनीले एन्टिबायोटिक, जठरान्त्र प्रणालीसम्बन्धी औषधि (एसिड स्राव नियन्त्रण), हाडजोर्नी तथा युरिक एसिडसम्बन्धी औषधि, पेनकिलर तथा एन्टी–इन्फ्लेमेटरी, दम, एलर्जी तथा विभिन्न प्रकारका भिटामिन उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएको छ ।

विगत वर्षहरूमा कम्पनीको आम्दानी निरन्तर बढ्दो क्रममा देखिएको छ । सन् २०२३ मा १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६७ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ ।

लामो सञ्चालन अनुभव, स्थिर आम्दानी वृद्धि र सुधारिँदो वित्तीय सूचकहरूले कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गरिएको छ । साथै, कम्पनीको सञ्चालन मुनाफा मार्जिन (ओपीएम) करिब १५ देखि १६ प्रतिशतको दायरामा स्थिर रहेको जनाएको छ ।

उत्पादन विविधताका हिसाबले पनि कम्पनी बलियो देखिएको छ । एशियन फर्मास्युटिकल्सले जठरान्त्र प्रणालीसम्बन्धी, मानसिक रोगसम्बन्धी, एन्टिबायोटिक, अर्थोपेडिक तथा भेटेरिनरी औषधिसहित विभिन्न उपचारात्मक क्षेत्र समेट्ने उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन अवधिमा ६ वटा विभिन्न डिभिजनमार्फत औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । विशेषगरी जठरान्त्र र मानसिक रोगसम्बन्धी औषधीमा कम्पनीको राम्रो बजार उपस्थिति रहेको र यसले भविष्यमा पनि आम्दानीको दिगोपनालाई समर्थन गर्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीको दर्ता कार्यालय तथा उत्पादन इकाइ रूपन्देहीको खुनसा–९ मा अवस्थित छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुतानन्द खनाल रहेका छन् भने कार्यकारी निर्देशकका रूपमा शंकर घिमिरे कार्यरत छन् । सेयर स्वामित्व संरचनामा खगिसरा घिमिरे कम्पनीकी सबैभन्दा ठूलो सेयरधनी हुन्, जसको करिब १०.३ प्रतिशत हिस्सा रहेको छ । बाँकी सेयर २१ जना अन्य सेयरधनीको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ ।

स्थापनाकालदेखि नै गुणस्तरीय औषधि उत्पादनमा जोड दिँदै आएको एशियन फर्मास्युटिकल्सले स्वदेशी औषधि उद्योगलाई सबल बनाउँदै आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । यद्यपि पछिल्ला वर्षहरूमा बढ्दो प्रतिस्पर्धा, आयात तथा नियामक जोखिमले कम्पनीको वित्तीय संवेदनशीलतालाई असर पार्न सक्ने देखिएको छ ।

सन् २०२४ मा कम्पनीले अत्यधिक ऋण बोकेको सहायक तथा भगिनी संस्था युनिभर्सल फर्मुलेसन्स प्रालिलाई गाभेपछि कम्पनीको बैंक ऋण उल्लेख्य रूपमा बढेको छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । जबकि मर्जरअघि कम्पनीको ऋण १ अर्ब ५० करोड ८२ लाख रुपैयाँ मात्रै थियो । कम्पनीका अनुसार हाल १ अर्ब ७ करोड रुपैयाँ दीर्घकालीन र ७९ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अधिग्रहण गरिएको प्लान्टमा थप पुँजीगत खर्च योजना अघि बढाइएकाले आगामी दिनमा ऋणस्तर अझै बढ्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार घरेलु औषधी उद्योग अत्यन्त प्रतिस्पर्धी र खण्डित रहेको छ । हाल नेपालमा ५० भन्दा बढी सक्रिय औषधी उत्पादक कम्पनीहरू सञ्चालनमा रहेका छन् । पछिल्ला वर्षहरूमा अनुसन्धान तथा विकास सुविधासहित नयाँ क्षमता विस्तारमा समेत लगानी बढ्दै गएकाले प्रतिस्पर्धा थप तीव्र हुने, मूल्यमा दबाब बढ्ने र उद्योगको समग्र मुनाफा मार्जिनमा असर पर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।

यससँगै औषधी उत्पादनमा कम आयात अवरोध (लो ड्युटी प्रोटेक्सन) रहेकाले सस्ता आयातित औषधीसँग घरेलु उत्पादकहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ, जसले दीर्घकालीन विस्तार क्षमता र नाफामा चुनौती थप्ने देखिएको छ । कच्चा पदार्थका लागि आयातमा निर्भरता पनि एशियन फर्मास्युटिकल्सका लागि अर्को चुनौतीको विषय बनेको छ । कम्पनी सक्रिय औषधी तत्व (एपीआई), एक्सिपिएन्ट, प्याकिङ सामग्रीलगायत सबै कच्चा पदार्थ आयातमा निर्भर छ, जसले आपूर्ति शृंखला अवरुद्ध हुने जोखिम र विदेशी मुद्रा उतारचढावको असर कम्पनीले वहन गर्नुपर्ने अवस्था सिर्जना गर्छ ।

Share News