काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को ४५औँ वार्षिक साधारण सभाबाट हेमकुमारी अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गुणराज भट्टका अनुसार माघ २४ गते सम्पन्न साधारण सभाले संघको २२औँ प्रबन्ध समिति निर्विरोध निर्वाचित भएका हुन् ।
भट्टका अनुसार उपसभापतिमा कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल र कृष्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा इन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, संघको कार्यकारी सदस्यमा मधु पौडेल, बुद्धि कुमार मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थी, कृष्णप्रसाद शर्मा र कृष्णकुमार भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
संघको संस्थागत सदस्यमा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की चयन भएका छन् ।
यसै अवसरमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आथित्यतामा नेशनल म्यानेजमेन्ट कन्भेन्सन-२०२६ पनि सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले देशको समग्र विकास र सुशासनका लागि दक्ष तथा उत्तरदायी व्यवस्थापन अपरिहार्य रहेको बताए । कन्भेन्सनअन्तर्गत पहिलो सत्र ‘अल्टरनेटिभ फाइनान्सिङ इन नेपाल’ विषयमा केन्द्रित रहेको थियो ।
साथै नेपाल व्यवस्थापन संघले प्रदान गर्दै आएका प्रतिष्ठित अवार्डहरू पनि वितरण गरिएको छ । यस वर्षको म्यानेजर अफ द इयर अवार्ड नीलेश मान सिंह प्रधानले प्राप्त गरेका छन् भने लाइफटाइम कन्ट्रिब्यूसन अवार्ड डा. युवराज खतिवडालाई प्रदान गरिएको छ । यस्तै, म्यान-सिटिजन्स एस्पाइरिङ अवार्ड-२०२५ गौरव उप्रेतीलाई प्रदान गरिएको छ ।