स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा गरेका हुन् ।

थापाले आफू स्वास्थ्यमन्त्री हुँदा सुरु भएको कार्यक्रम अहिले बन्द हन्छ कि भन्ने अवस्थामा पुगेको बताउँदै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीले गहिरो छलफल अध्ययन गरिसकेको बताएका छन् ।

कार्यक्रम प्रभावकारी बनाउन थापाले केही एजेण्डा सार्वजनिक गरेका छन् । जसमा प्रत्येक नेपाली नागरिकलाई बीमामा आवद्ध गराउनै पर्ने उल्लेख गरेका छन् । सबै नागरिक आवद्ध नगराउँदासम्म यो कार्यक्रम चल्न नसक्ने उनको दाबी छ ।

उनी भन्छन्, ‘सबैलाई बीमामा यसमा आवद्ध गर्नुपर्छ र त्यसपछि एयर मार्क गरेर रक्सी चुरोट जस्ता थुप्रै कुरामा ट्याक्स लगाउनु पर्छ । जुन पैसा बीमाको लागि खर्च हुने गरी काम गर्नुपर्छ ।’

थापाका अनुसार कार्यक्रम प्रभावकारी बनाउन गर्नुपर्ने दोस्रो काममा जति पनि सामाजिक सुरक्षा, वा स्वास्थ्यसँग जोडिएका कार्यक्रम छन् ती सबै कार्यक्रमलाई एकीकृत गरेर सुदृढ बनाउनुपर्ने हुन्छ  ।

‘कार्यक्रम प्रभावकारी बनाउन तीन तहको सरकारलाई एकठाउँमा ल्याएर काम गराउनुपर्ने हुन्छ,’उनी भन्छन्, ‘प्राइमरी, सेकेन्डरी, ट्रसरी सेवा दिने फरक संस्थाहरूलाई कसर एक ठाउँमा ल्याउने, प्रिभेन्सन, प्रोभेन्सनका कार्यक्रमलाई पनि एकै ठाउँमा ल्याएर बाँध्नुपर्ने छ यसरी होलेस्टीक अप्रोचबाट हेर्यौं भने बल्ल बीमाको कार्यक्रम सफल हुन सक्छ ।’ 

थापाका अनुसार सरकारी र निजी सबै ठाउँबाट बीमाको सेवा सुविधा पाउने बनाउन सक्नुपर्नेछ ।

‘बीमा कार्यक्रममा धेरै चुहावट छ यो रोक्नका लागि डिजिटल सिस्टम कसरी बनाउन सकिन्छ भनेर हामीले काम गरेका छौं,’ थापाले लेखेका छन्, ‘सेवालाई चुस्तदुरुस्त कसरी बनाउने, दाबीलाई कसरी ठिक बनाउने समयमा दाबी गरेकै समयमा भुक्तानी गर्ने, दोहोरो पन हुन नदिने यि सबै कुराको लागि बीमा बोर्डलाई बलियो कसरी बनाउने, यसको संरचनागत सुधार कसरी बनाउने भन्ने विषयमा गहिरो छलफल गरेका छौं ।’

यति काम गरिसकेपछि अबको निर्वाचन पछाडि पाँच वर्ष सरकार चल्दै गर्दा अहिलेको अस्तव्यस्त बीमा सच्चिने उनको दाबी छ ।

नेपाली नागरिकले आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुपरेका, कतिपयले घर सम्पत्ति बेचेर घरवारविहीन हुनुपरेको अवस्थाबारे आफू जानकार रहेको बताउँदै थापाले अब बीमालाई सुधार गरी बीमाको कभरेज बढाउने बताए । 

एउटा नेपाली नागरिकले स्वास्थ्य बीमा लिसकेपछि जति खर्च लागेपनि केही बाहेक सबै रोगको उपचार बीमाले कभरेज गर्ने ठाउँसम्म पुर्याउन सकिने उनको दावी छ । 

Share News