आइएमई लाइफलाई एशिया इमर्जिङ इन्स्योरेन्स अवार्डमा तीन उपाधि

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित एशिया इमर्जिङ इन्स्योरेन्स अवार्ड्समा तीनवटा विधामा उपाधि हात पारेको छ । कम्पनीले उत्कृष्ट ग्राहक–मुखी सेवा, बीमा नेतृत्वमा महिला तथा बीमामा पहुँच विस्तारका लागि उपाधि प्राप्त गरेको हो ।

साथै, उत्कृष्ट रणनीति विधामा सानिमा रिलायन्स लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा उपाधि हासिल गरेका छन् ।

यस सम्मानले बीमा जागरूकता विस्तार, आधुनिक प्रविधि–सञ्चालित सेवा प्रदान तथा बीमा क्षेत्रमा महिला नेतृत्वलाई प्रोत्साहन गर्ने कम्पनीको प्रयासलाई पहिचान गरेको छ ।

शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा आयोजित सम्मान समारोहमा सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्याल र प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रूपमा उपाधि ग्रहण गरेका हुन् ।

समारोहका अवसरमा प्रमुख कार्यकारी अधिकृत खड्काले डिजिटल र एआई प्रविधिको प्रयोगमार्फत अभिकर्ताको भूमिकालाई सशक्त बनाउने विषयमा विचारकका रूपमा नेपालको प्रतिनिधित्वसमेत गरेका थिए । उनले नेपालमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्ने कम्पनीको रणनीतिबारे पनि धारणा राखेका थिए ।

गत वर्ष पाँचौं संस्करणमा पनि आइएमई लाइफले उत्कृष्ट जीवन बीमक, बीमा नेतृत्वमा महिला तथा बीमामा पहुँच विस्तारका लागि उत्कृष्ट रणनीति विधासहित तीनवटा उपाधि जितेको थियो । सन् २०२३ मा आइएमई लाइफ उक्त समारोहमा उत्कृष्ट जीवन बीमकको उपविजेता बनेको थियो ।  

Share News