एनएलजी इन्स्योरेन्सद्वारा सिद्धकुमाख गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम

काठमाडौं । कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सिद्धकुमाख गाउँपालिका वडा नं ५ को वडा कार्यालयमा आयोजित कार्यक्रममा कृषकलाई बीमाको दायरामा ल्याउने लक्ष्यसहित कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया तथा यसको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेस कोअर्डिनेटर सुनील श्रेष्ठले कृषकलाई प्राकृतिक जोखिम तथा आर्थिक क्षतिबाट सुरक्षित गर्न कम्पनीले देशभरका गाउँ–गाउँमा पुगेर बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चुडामणि रेउलेले बीमाले कृषकको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्याउन आग्रह गरे । उनले आगामी दिनमा वडास्तरबाट बीमालाई उच्च प्राथमिकतामा राखी कृषकलाई बीमाको दायरामा ल्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहराले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै छलफलका क्रममा उठेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिए । उनले पछिल्ला वर्षदेखि सञ्चालन गरिएको गाउँस्तरीय बीमा अभियान सकारात्मक र प्रभावकारी बन्दै गएको बताए ।

कार्यक्रमकै क्रममा कृषि तथा पशुपन्छी बीमा दाबी अन्तर्गत १२ जना कृषकलाई दाबी भुक्तानी वितरण गरिएको थियो। साथै, माघ १ गतेदेखि दाबी भुक्तानी अनलाइन माध्यमबाट मात्र उपलब्ध गराइने जानकारी पनि दिइएको थियो।

नेपाल सरकारले उपलब्ध गराउँदै आएको ८० प्रतिशत बीमा शुल्क अनुदान सुविधाबारे पनि कृषकलाई जानकारी गराइएको थियो। कार्यक्रममा वडा नं ५ का विभिन्न टोलबाट ४० जना कृषकको सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन एनएलजी इन्स्योरेन्सका अभिकर्ता हरिबहादुर रेउलेले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य झुपलाल बोहरा, पशु प्राविधिक टिका बस्नेत र कृषि प्राविधिक तिला रेउलेलगायतको आतिथ्यता रहेको थियो । 

Share News