एलन मस्कको ट्रिलियनेयर बन्ने सपना, स्पेसएक्स मुख्य इन्जिन ?

काठमाडौं । एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर बन्ने यात्रामा छन् र यो यात्रा कारभन्दा पनि रकेटले अघि बढाउने सम्भावना बढी देखिन्छ । किनकि अहिले अन्तरिक्ष कम्पनी स्पेसएक्सले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कको नेटवर्थको करिब दुई–तिहाइ हिस्सा ओगटेको छ ।

फोब्र्सका अनुसार यस साता मस्कको कुल सम्पत्ति ८०० अर्ब अमेरिकी डलर नाघ्दै करिब ८४५ अर्ब डलर पुगेको छ । उनी अहिले गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिन तथा मेटाका सीईओ मार्क जुकरबर्ग—यी तीनै जना धनीहरूको संयुक्त नेटवर्थभन्दा पनि धनी छन् ।

सीएनबीसीले हेरेका वित्तीय कागजातअनुसार यस साता मस्कको स्पेसएक्सले उनको कृत्रिम बौद्धिकता (एआई) र सामाजिक सञ्जाल कम्पनी एक्सएआईलाई अधिग्रहण गरेपछि उनको सम्पत्ति झन् बढेको हो । सो सम्झौतामा एकीकृत कम्पनीको मूल्य १.२५ ट्रिलियन डलर आँकिएको छ ।

संयुक्त कम्पनीमा मस्कको स्वामित्व करिब ४३ प्रतिशत रहने अनुमान छ । यस आधारमा उनको हिस्साको मूल्य मात्रै ५३० अर्ब डलरभन्दा बढी हुन्छ, जुन उनको आर्थिक अवस्थाको तीव्र परिवर्तनलाई देखाउँछ ।

मस्कको प्राथमिकता पनि टेस्लाभन्दा बढी स्पेसएक्सतर्फ सर्दै गएको देखिन्छ । टेस्लाले आफ्नो पछिल्लो प्रोक्सी फाइलिङमा ‘मस्कको अधिकांश सम्पत्ति अब अन्य व्यवसायिक उपक्रमबाट आएको छ’ भनेर स्वीकार गरेको छ ।

गत वर्ष मस्कले २०२६ मा स्पेसएक्सलाई सेयर बजारमा सूचीकृत (पब्लिक) गर्ने इच्छा व्यक्त गरेका थिए । यसो भएमा टेस्ला उनको तरल सम्पत्तिमा अपेक्षाकृत कम महत्त्वपूर्ण हुने थियो । तर रक्षा ठेकेदार र स्याटेलाइट व्यवसायसँगै ठूलो घाटामा चलिरहेको एआई मोडल विकास गर्ने कम्पनीलाई समेटेको यस्तो संरचनामा सार्वजनिक लगानीकर्ताहरू लगानी गर्न हिच्किचाउन सक्छन् । खासगरी यो एआई कम्पनीले गुगल, ओपनएआई र एन्थ्रोपिकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

फेडस्काउटका अनुसन्धानअनुसार स्पेसएक्सले संघीय सरकारसँगका ठेक्काबाट २० अर्ब डलरभन्दा बढी रकम पाइसकेको छ र अझै आकर्षक ठेक्काहरू आउने क्रममा छन् । मस्कले यस अधिग्रहणलाई ‘अर्बिटल डेटा सेन्टर’तर्फको अर्को कदमका रूपमा व्याख्या गरेका छन् ।

रेनमेकर सेक्युरिटिजका म्यानेजिङ डाइरेक्टर ग्रेग मार्टिन भन्छन्, ‘शुद्ध स्पेसएक्स सेयरधनीका रूपमा उनको कथा केही धमिलिएको देखिए पनि सम्भावनाको क्षितिज भने झन् फराकिलो बनेको छ । विशेषगरी पूँजीको अतृप्त आवश्यकता बोकेको एक्सएआईजस्ता परियोजनासँगै ठूलो पूँजी बजारतर्फ उनीहरूको आकर्षण स्वाभाविक देखिन्छ ।’

हाल एक्सएआई युरोप, एसिया, अष्ट्रेलिया र क्यालिफोर्नियामा अनुसन्धानको घेरामा छ । कारण, कम्पनीको ‘ग्रोक’ इमेज जेनेरेटरले बालबालिका र महिलाका ‘डिपफेक’ अश्लील तस्बिरहरू बनाउन र साझा गर्न अनुमति दिएको आरोप छ ।

मस्कको यो मर्जरलाई नियामक समीक्षा आवश्यक पर्छ कि पर्दैन भन्ने स्पष्ट छैन । यसै साता अमेरिकी डेमोक्र्याट सिनेटरहरूले स्पेसएक्समा गोप्य चिनियाँ लगानीकर्ता रहेको आशंकामा पेन्टागनलाई अनुसन्धान गर्न आग्रह गरेका छन् ।

मस्कका लागि टेस्लामा केन्द्रित रहन अझै ठूलो प्रोत्साहन छ । गत वर्षको अन्त्यतिर सेयरधनीहरूले नयाँ पारिश्रमिक प्याकेज स्वीकृत गरेका थिए, जसको मूल्य एक ट्रिलियन डलरसम्म हुन सक्छ । आगामी एक दशकमा टेस्लाले निश्चित लक्ष्यजस्तै बजार पुँजीकरण र सञ्चालन उपलब्धि हासिल गरेमा यो पारिश्रमिक १२ चरणमा दिइनेछ। 

पहिलो चरणको सेयर भुक्तानी टेस्लाको बजार मूल्य २ ट्रिलियन डलर पुगेपछि मात्र हुनेछ, जुन हालको मूल्यांकनभन्दा करिब ४६० अर्ब डलर बढी हो । टेस्लाले उक्त योजनाबारे प्रोक्सी फाइलिङमा ‘उनले अन्य उपक्रमलाई प्राथमिकता नदिऊन् भन्ने उद्देश्य’ रहेको उल्लेख गरेको छ ।

तर कोलम्बिया ल स्कूलकी कर्पोरेट तथा सेक्युरिटीज कानुन विशेषज्ञ डोरोथी लन्डका अनुसार यो रणनीति सफल नहुन सक्छ । उनले भनेकी छन्, ‘मस्क अहिले प्रत्येक कम्पनीमा पारिश्रमिक प्याकेजबारे मोलतोल गरिरहेका छन् र हरेक बोर्ड उनलाई ध्यान दिन प्रेरित गर्न पैसा देखाइरहेको छ । यदि स्पेसएक्सरएक्सएआईले उनलाई बढी पैसा र ठूलो हिस्सा दिन्छ भने टेस्लाको प्याकेज कम आकर्षक देखिन सक्छ ।’

एक्सएआई अधिग्रहणअघिसम्म मस्कसँग स्पेसएक्सको करिब ४२ प्रतिशत स्वामित्व र ८० प्रतिशत मताधिकार थियो । सार्वजनिक कागजातअनुसार हाल टेस्लामा उनको स्वामित्व ११ देखि १५ प्रतिशतबीच छ ।

टेस्लाको ब्रान्ड मूल्य र मुख्य अटो बिक्री घट्दो क्रममा रहनुका साथै लामो समयदेखि घोषणा गरिएका रोबोट्याक्सी र मानवरूपी रोबोट अझै विकासमै रहेको कारण यस वर्ष टेस्लाको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको छ ।

मस्क ट्रिलियनेयर बन्न टेस्लाको सेयर मूल्य स्थिर रह्यो भने उनको स्पेसएक्स स्वामित्वका आधारमा रकेट र एआई कम्पनीको मूल्यांकन करिब १.६ ट्रिलियन डलर पुग्नुपर्ने हुन्छ । गर्बर कावासाकीका सीईओ रोस गर्बरको अनुमान छ— मस्क स्पेसएक्सलाई एक्लै पब्लिक बनाउने पक्षमा कहिल्यै नहुन सक्छन् । बरु स्पेसएक्स र टेस्लाको मर्जर गरेर न्यूयोर्क स्टक एक्सचेञ्जमा ‘एक्स’ टिकरमार्फत सूचीकृत गर्ने सम्भावना देख्छन् । यो टिकर पहिले युएस स्टिलसँग थियो ।

गर्बर दीर्घकालीन टेस्ला लगानीकर्ता हुन् र २०२२ मा मस्कले ट्विटर (पछि एक्स) खरिद गर्दा गरेको लेभरेज्ड बाइआउटमा समर्थन गरेपछि उनीसँग स्पेसएक्सका सेयर पनि छन् । मस्कले ट्विटरलाई एक्स नाम दिएर गत वर्ष एक्सएआईसँग गाभेका थिए ।

गर्बरका अनुसार मस्कको साम्राज्य एकीकृत गर्नु तर्कसंगत छ, किनकि यसले ‘एक्स’ ब्रान्डअन्तर्गत एउटै विशाल कम्पनी चलाउने उनको सपना पूरा गर्न मद्दत गर्छ । अल्फाबेटले यस वर्ष पूँजीगत खर्चमा १८५ अर्ब डलरसम्म खर्च गर्ने घोषणा गरेपछि, मस्कले पनि ठूलो मात्रामा नगद जुटाउन सक्नुपर्ने गर्बरको भनाइ छ ।

उनले भने, ‘यस्तो विशाल संस्थाले पूँजी उठाउन र ऋण लिन सजिलो बनाउँछ । मस्कले ठूला एआई खेलाडी बन्न प्रतिस्पर्धा कसरी गर्ने त ?’

यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा मस्कले भने प्रतिक्रिया दिएनन् ।

(सीएनबीसीबाट अनुदित तथा सम्पादित)

Share News