काठमाडौं । खोटाङमा बिहेभोज खादा करिब सयजना बिरामी भएका छन् । बुधबार जन्तेढुङ्गा गाँउपालिका ६ मा आयाेजित विवाह भोज खाएकाहरू बिरामी परेका हुन् ।
खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु विष्टले बिहे भोज खाएर फर्केकाहरूलाई एक्कासि पेट दुख्ने, ज्वरो र झाडाबान्ता जस्ता समस्याले सताएको बताए ।
उनका अनुसार ८ जनालाई फुड पोइजन भएको छ । चिसापानीको प्राथमिक स्वास्थ्य क्रेन्द्रमा उपचार भएकाहरूमा फुड पोइजनको पुष्टि भएको हो ।
केही बिरामीलाई स्थानीय सुजना राईको घरमा राखेर सामूहिक रूपमा उपचार गरिरहेको विष्टले जानकारी दिए ।
‘बिहे भोज खाएको भोलिपल्ट १–२ जना मात्र बिरामी भएका थिए । हिजोदेखि ठूलो संख्यामा बिरामीको संख्या बढेका हुन्,’ विष्टले विकासन्युजसँग भने ।
बिरामीहरूलाई बिहेघरको आसपासमै स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार सुरु गरिएको विष्टले बताए ।
शिविरमा ४५ देखि ५० जनालाई राखेर उपचार गरिरहेको उनले उल्लेख गरे । केही बिरामीलाई घरमा स्लाइन दिएर उपचार भइरहेको उनको भनाइ छ ।
९ देखि ६० वर्ष उमेर समूहका मानिसहरूमा यस्तो समस्या देखिएको उनले बताए । बिरामी अवस्था सामान्य रहेको विष्टले जानकारी दिए ।