काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आइतबारदेखि सञ्चालन हुँदैछ । सरकारले आजदेखि सञ्चालन गर्न लागेको किशोरी लक्षित खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । यो अभियान विद्यालय वा स्वास्थ्य संस्थामार्फत खोप केन्द्र सञ्चालन गरी सुरु हुने जनाइएको छ ।
कक्षा ६ मा अध्ययनरत बालिका, विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिका, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका बालिका तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अत्यधिक चिसो हुने हिमाली जिल्लाहरूमा भने चैतदेखि वैशाखसम्म यो अभियान सञ्चालन हुनेछ। यो पूर्ण रूपमा निःशुल्क र सुरक्षित भएकाले अनिवार्य रूपमा लगाउन सरकारले आग्रह गरेको छ । एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ ।
गत वर्षको एचपीभी खोप अभियानमा खोप लगाएकाहरूले भने यो वर्ष खोप लगाउन पर्दैन ।