काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो । एसियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक–केन्द्रित पहलहरूको मूल्याङ्कन गरी प्रदान गरिने यस अवार्डलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मानका रूपमा लिइन्छ । यस विधामा सानिमा रिलायन्स लाईफको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी तथा व्यवहारिक रणनीतिक सोचको प्रतिविम्ब भएको कम्पनीले जनाएको छ ।
अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले यो अवार्ड कम्पनीको रणनीतिक दृष्टिकोण, टिमको समर्पण र ग्राहक–केन्द्रित सेवाको मान्यता भएको उल्लेख गरे । साथै, सानिमा रिलायन्स लाईफ सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने लक्ष्यमा केन्द्रित रहेको उनको भनाइ छ ।
यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले अन्तर्राष्ट्रिय अवार्डले कम्पनीलाई नेपालमा मात्र नभई एसियाली बीमा बजारमा समेत सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप स्थापित गरेको बताए ।
उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक–केन्द्रित नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा आबद्ध छन् ।