काठमाडौं । कुनै पनि विपत्ति वा दुर्घटनाले मानिसलाई कमजोर बनाउन सक्छ, तर दृढ संकल्प भएको नेतृत्व छ भने त्यसले खरानीबाट पनि नयाँ जीवन पाउन सक्छ भन्ने उदाहरण बनेको छ, भाटभटेनी सुपरमार्केट । गत भदौकाे आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भाटभटेनीको कोटेश्वर शाखा शनिबारबाट पुनः सञ्चालनमा आएको छ । लामो समयको पुनर्निर्माणमा रहेको भाटभटेनी फेरि ग्राहकको सेवामा फर्किएको हो ।
कोटेश्वर शाखाको उद्घाटनका क्रममा भावुक तर उत्साहित देखिएका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले भने, ‘एउटा ठूलो दुर्घटनाबाट हामी उठ्न सफल भयौं । एक कदम अगाडि बढ्ने हिम्मत गर्दा आज खुसी महसुस भइरहेको छ ।’
करिब ३ महिनाको तीव्र मिहिनेत र पछिल्ला दुई महिनाको रात दिनको परिश्रमपछि कोटेश्वर शाखा पुरानो लयमा फर्काएको छ । कोटेश्वरबाहेक भाटभटेनीका बाँकी ११ वटा शाखाहरू पनि क्रमशः पुनः सञ्चालन हुने उनको भनाइ छ । नक्सालको शाखामा केही समय लाग्ने उनी बताउँछन् । उनका अनुसार फागुनको दोस्रो साताभित्र महाराजगञ्ज शाखा र बैशाख महिनामा बौद्धको चुच्चेपाटी शाखा पुनः सञ्चालनमा ल्याइने तयारी छ ।
जेनजी आन्दोलनमा पूर्ण रूपमा ध्वस्त बनेको कोटेश्वर शाखालाई यसपटक पहिलाभन्दा अझ अत्याधुनिक, सुरक्षित र व्यवस्थित बनाएर पुनः सञ्चालनमा ल्याइएको छ । शाखाको भुइँतलामा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै नयाँ र मजबुत संरचनाको भवन निर्माण गरिएको छ ।
गुरुङले विशेष पूजाआजा गरी भाटभटेनीको उद्घाटन गरेसँगै पाँच महिनादेखि ठप्प भाटभटेनी सेवा सुचारु भएको हो । भाटभटेनीमा ३०० भन्दा बढी कर्मचारी काममा फर्किएका छन् ।
यस्तै, देशभरका २८ शाखाहरूमध्ये आन्दोलनको मारमा परेका १२ वटा शाखाहरू अहिले पुनर्निर्माणको चरणमा छन् । गुरुङका अनुसार आउँदो भदौसम्ममा र दशैं अगावै सबै शाखाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउनेछन् । आन्दोलनको निशानामा निजी क्षेत्र पर्नु दु:खद रहेको बताउँदै गुरुङले निजी क्षेत्र नै देश विकासको संवाहक भएको उल्लेख गरे ।
‘निजी क्षेत्रलाई पछाडि धकेलेर देश अगाडि बढ्न सक्दैन । यो अज्ञानताको उपज हो, ’ उनले भने, ‘म भगवानसँग प्रार्थना गर्छु कि मेरो देशमा अब उप्रान्त यस्ता घटना कहिल्यै नदोहोरिउन् ।’
अध्यक्ष गुरुङले विनाश र त्रासको बीचबाटै समृद्धिको नयाँ मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे । भदौ २३ गतेको दु:खद आगजनी र आक्रमणको घटनालाई बिर्सिएर अब पुनर्निर्माण र राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने उनले बताए ।
उनले भने, ‘जसरी दोस्रो विश्वयुद्धको महाविनाशपछि जापान विश्वकै विकसित मुलुक बन्यो र खरानी भएको कारखानाबाट बीएमडब्लु जस्तो विश्व प्रख्यात ब्रान्ड जन्मियो, त्यसरी नै भाटभटेनी पनि अझ सशक्त भएर उठ्नेछ ।’
गुरुङले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा भएको बमबारी तथा १९४४ मा जर्मनीको म्युनिखमा ध्वस्त भएको विमान इन्जिन कारखानाको उदाहरण दिए । ‘विनाश नै अन्त्य होइन, यो त नयाँ सुरुवातको अवसर पनि हो,’ उनले भने, ‘जसरी ती देश र कम्पनीहरूले पुरानो घाउलाई कोट्याउनुको साटो भविष्य निर्माणमा ध्यान दिए, हामी पनि त्यसै गर्नेछौँ ।’
भदौ २४ जेनजी आन्दोलनको दोश्रो दिनको घटनालाई नेपालको नकारात्मकता जलेको दिनका रूपमा व्याख्या गर्दै अध्यक्ष गुरुङले अबको १५ वर्षभित्र नेपाललाई सम्पन्न देशको सूचीमा पुर्याउने सपना सुनाए । उनले भने, ‘भाटभटेनी मात्र उठ्दैन, अब नेपाल उठ्छ । नेपालीहरू अब अर्काको देशमा काम गर्न जाने होइन, आफ्नै सिर्जना र क्षमताले देश बनाउनेछन् । हामीसँग हिम्मत छ, हामी गर्न सक्छौं ।’
विपद्को समयमा पनि भाटभटेनीले आफ्ना १० हजार कर्मचारीहरूको साथ छोडेन । संरचना जलेर व्यवसाय ठप्प हुँदा पनि कुनै पनि कर्मचारीले रोजगारी गुमाउनु परेन । गुरुङका अनुसार बन्द रहेको समयमा पनि कर्मचारीहरूले सेवा-सुविधा र तलब पाइरहे ।
भाटभटेनीले व्यवसाय मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अग्रणी भूमिका खेल्दै आएको गुरुङको भनाइ छ । उनका अनुसार शिक्षण अस्पतालको भवन निर्माणदेखि दुर्गमका विद्यार्थीलाई डाक्टर बनाउनेसम्म र भूकम्प-बाढीजस्ता प्राकृतिक विपत्तिमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको यो संस्था नेपालकै ठूलो करदाता र रोजगारदातामध्ये एक हो ।
गुरुङले युवाहरूलाई कडा परिश्रम र इमानदारिताको पाठ सिक्न आग्रह गरे । खोटाङबाट आएर शून्यबाट व्यवसाय सुरु गरेका उनले भने, ‘कडा परिश्रम बिना केही हुँदैन । हल्ला गरेर मात्र देश बन्दैन । यदि हामी इमानदार भएर लाग्यौं भने आगामी १५ वर्षभित्र नेपाललाई सम्पन्न मुलुक बनाउन सकिन्छ ।’
आगोले संरचना त जलायो, तर मीन बहादुर गुरुङको देशप्रतिको भक्ति र हिम्मत जलाउन सकेन । उनी भन्छन्, ‘मैले हार मानेको भए देशको अर्थतन्त्रमा ठूलो असर पर्थ्यो । तर, राष्ट्र प्रेमले मलाई अघि बढ्न प्रेरित गर्यो । अब नकारात्मकतालाई भदौ २३ सँगै जलाइ दिऊँ र देश निर्माणको सकारात्मक बाटोमा लागौँ । ’