काठमाडौं । पूर्वाधार निर्माणका क्षेत्रमा चिनिएको कम्पनी हुलास इन्फ्राले अत्याधुनिक र नवीनतम उत्पादनहरू प्रदर्शन गरिरहेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ मा विभिन्न उत्पादनहरू सार्वजनिक गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इम्तियाज अलीका अनुसार हुलास इन्फ्राले नेपालमै पहिलोपटक ‘लाइट गेज स्टिल फ्रेम’ प्रविधि भित्र्याएको छ । यो प्रविधि आधुनिक र सुरक्षित घर निर्माणका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यसका साथै सडक सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले ‘क्र्यास ब्यारियर’ र ’थ्रि बिम’ जस्ता महत्त्वपूर्ण उत्पादनहरू पनि प्रदर्शनीमा राखेको छ ।

हुलास इन्फ्राले काठमाडौंमा स्टिलका अग्ला भवनहरू निर्माण गर्ने तयारी थालेको छ । प्रदर्शनीमा यस्ता भवनहरूको नमुना समेत राखिएको छ, जसले आगन्तुकहरूको ध्यान तानिरहेको छ ।
कम्पनीले पछिल्लो समय सोलार माउन्ट स्ट्रक्चरको उत्पादन समेत सुरु गरिसकेको छ । यसबाहेक ट्रान्समिसन टावर, हाई मास्ट पोल, मोनोपोल, वेयरहाउस निर्माणका सामग्रीहरूका साथै उच्च गुणस्तरका प्रि-जीआई र जीआई पाइपहरू पनि कम्पनीका मुख्य उत्पादनमा पर्छन् ।
सीईओ अलीले यी अत्याधुनिक प्रविधि र उत्पादनहरूबारे प्रत्यक्ष जानकारी लिनका लागि निर्माण व्यवसायी, इन्जिनियर र सर्वसाधारणलाई स्टल नम्बर ३२ मा भ्रमण गर्न आग्रह गरेका छन् ।

नेपालको आफ्नै उत्पादन र नयाँ प्रविधिको प्रयोगले देशको पूर्वाधार विकासमा नयाँ आयाम थपिने विश्वास कम्पनीले लिएको छ ।
निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डको सहभागिता रहेको छ । प्रदर्शनी स्थलमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामग्रीहरू प्रदर्शन गरिएको छ ।