घरमै बसेर डिशहोम गोमा ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ हेर्न सकिने

काठमाडौं । डिशहोम गोले दर्शकहरूका लागि दुई नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ ।

प्रदर्शनका क्रममा सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने भएको छ । नेपालभित्रका दर्शकहरूले यी चलचित्र प्रतिफिल्म २२५ रुपैयाँमा हेर्न सक्नेछन् भने नेपालबाहिर रहेका दर्शकहरूले डिशहोम गोमार्फत ६.९९ अमेरिकी डलरमा मनोरञ्जन लिन सक्नेछन् ।

‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो । जितु नेपाल, सम्राज्ञी आरएल शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको यो रोमान्टिक कमेडी चलचित्रले हल प्रदर्शनका क्रममा दर्शकको राम्रो साथ पाएको थियो । सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतार–चढावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यस चलचित्र विशेषगरी पारिवारिक दर्शकबीच लोकप्रिय छ ।

त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र सन्तोष सेन तथा निर्माता सन्तोष सेनको ऐतिहासिक प्रेमकथा हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको अभिनयले चलचित्रलाई प्रभावशाली बनाएको छ । नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भई प्रशंसा बटुलेको यस चलचित्रले भव्य दृश्य, सशक्त कथा र भावनात्मक प्रेमकथाका कारण दर्शकको मन जित्न सफल भएको थियो ।

डिशहोम गो नेपाली दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा विविध नेपाली तथा अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने ओटीटी प्लेटफर्म हो । मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जहाँसुकै र जुनसुकै समयमा हेर्न सकिने सुविधासहित डिशहोम गोले विश्वभर रहेका नेपाली दर्शकलाई आफ्नो संस्कृति र मनोरञ्जनसँग जोड्दै आएको छ ।  

Share News