काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आम निर्वाचन २०८२ का लागि दर्ता भएका राजनीतिक दलहरूलाई आफ्नो–आफ्नो घोषणा–पत्रमा संघले तयार पारेको १५ बुँदे आर्थिक सुधार एजेन्डा समावेश गर्न आग्रह गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा संघले मुलुकको अर्थतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि हासिल गर्न यी एजेन्डाहरू आवश्यक रहेको उल्लेख गर्दै सबै दलहरूलाई अपील गरेको हो ।
संघका अनुसार हाल नेपालमा नीति अस्थिरता, खुला सीमा नाकाबाट हुने अवैध कारोबार, उच्च सरकारी खर्च, कमजोर प्रशासनिक प्रणाली तथा उद्योगमैत्री नीतिको अभावजस्ता समस्याका कारण अर्थतन्त्र गम्भीर दबाबमा परेको छ । यी समस्याको समाधान नगरेसम्म देशको आर्थिक पुनरुत्थान सम्भव नरहेको संघको ठहर छ । यही अवस्थालाई मध्यनजर गर्दै संघले हालसम्म दर्ता भएका करिब १३६ राजनीतिक दललाई आफ्नो घोषणा–पत्रमा आर्थिक सुधारसम्बन्धी एजेन्डा अनिवार्य रूपमा समावेश गर्न आग्रह गरेको हो ।
संघले प्रस्तुत गरेको १५ बुँदे एजेन्डामा कृषि उत्पादकत्व वृद्धि, सहुलियत दरमा मल, बीउविजन र आधुनिक औजारको उपलब्धता, पाँच वर्षभित्र वार्षिक एक करोड पर्यटक भित्र्याउने नीति, सीमावर्ती क्षेत्रमा शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठान सञ्चालन, अवैध कारोबार नियन्त्रण, स्वदेशी उद्योगको संरक्षण तथा प्रवर्द्धन, नियमित विद्युत आपूर्ति र विद्युत उत्पादन विस्तारजस्ता विषय समेटिएका छन् ।
यसैगरी निर्यात प्रवर्द्धनका लागि समुद्री बन्दरगाहसम्मको पहुँच सहज बनाउने, निर्यात अनुदान दिने, औद्योगिक कोरिडर विकास गर्ने, ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी स्थल निर्माण गर्ने, उद्योग व्यवसायको सुरक्षाका लागि कडा नीति लागू गर्ने लगायतका प्रस्ताव पनि एजेन्डामा समावेश छन् ।
एजेन्डामा करदाता व्यवसायीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, कर्मचारी सरुवा र नियुक्तिमा मेरिट प्रणाली लागू गर्ने, विकास निर्माणका काम समयमै सम्पन्न गर्ने, डिजिटल गभर्नेन्समार्फत सरकारी खर्च घटाउने तथा श्रम ऐनलाई उद्योगमैत्री बनाउने विषय पनि समेटिएका छन् ।
संघले यी आर्थिक सुधार एजेन्डा कार्यान्वयनमा ल्याएमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र राजस्व संकलनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ । साथै, सरकार र राजनीतिक दलहरूसँग सहकार्य गर्दै देशको आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ ।