काठमाडौं । एआईको प्रयोग गरेर तस्विर बनाइ भ्रम फैलाउने व्यक्तिलाई कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कारबाही गर्नलाई साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।
बुधबार झापा निर्वाचन क्षेत्र नं. ५, कमल गाउँपालिका वडा नं. २, क्याम्पा बजारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयको घरमा तोडफोड भएको घटना घटेको थियो । घरधनी बसोबास गर्ने कोठाको झ्यालको सिसा करिब १२–१५ बजे ढुङ्गाले हानी फुटाइएको थियो । घटना सम्बन्धी जाहेरी परेपछि कारबाही प्रक्रिया अगाडि बढिसकेको जिल्ला प्रशासन कार्यालय झापा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए ।
प्रशासनले एआईको दुरुपयोग गरेर बनाइएको तस्विर सामाजिक सञ्जालमा फैलाइएको र भ्रामक सूचना दिएको दाबी गरेको छ । सो तस्विरले घरमा भएको गम्भीर तोडफोड जस्तो देखाएर आम जनतामा भ्रम सिर्जना गरेको हुँदा सम्बन्धित व्यक्ति वा समूहको पहिचान गरी कारबाहीको लागि पत्राचार गरिएको छ ।
प्रहरीका अनुसार एआईबाट बनाइएको उक्त तस्विर ‘ग्यालेक्सी फोरके सिधा कुराको’ ग्रुपमा हरीबहादुर डाँगीले सेयर गरेका थिए । प्रशासनले डिजिटल माध्यमबाट फैलिने गलत सूचनालाई नियन्त्रणमा लिन विशेष ध्यान दिने जनाएको छ ।