काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गते प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको माघ २३ गतेको निर्णयमार्फत उनलाई उक्त पदमा नियुक्त गरिएको हो ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई उत्तीर्ण गरेकी छन् । उनले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ गते स्थायी नियुक्ति प्राप्त गरेकी थिइन् ।
डंगोल २०८० जेठ ३२ गते नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । यस क्रममा उनले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारीसमेत सफलतापूर्वक पूरा गरिसकेकी छन् । हाल उनी प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् ।
पदभार ग्रहण गर्दै डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । उनले ग्राहकको चाहना र सरकारको प्राथमिकताअनुसार कम्पनी, कर्मचारी तथा राष्ट्रको हितलाई केन्द्रमा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले नेपाल टेलिकमलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको बताइन् । साथै, आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरूलाई आह्वान गरिन् ।