काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल, ग्यास र चामललगायत अत्यावश्यक उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी उपभोक्तालाई राहत दिन निर्देशन दिएको छ ।
बुधबार विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई बोलाएर अनुचित नाफा नलिई वस्तु तथा सेवा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अवाञ्छित मूल्य वृद्धिलाई नियन्त्रण गरी बजारलाई प्रतिस्पर्धी र स्वच्छ बनाउने उद्देश्यले खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई बोलाई अनुचित नाफा नलिई वस्तु तथा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्य वृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको हो । ’
विभागका अनुसार पछिल्लो समय दैनिक उपभोग्य वस्तु-खानेतेल, ग्यास र चामलमा अस्वाभाविक मूल्य वृद्धि र आपूर्तिमा कमी भएको भन्दै उपभोक्ता तह तथा सञ्चारमाध्यममार्फत गुनासोहरू बढ्दै आएका छन् । ती गुनासोप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग सधैं प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विभागले अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवा प्रदायक फर्म तथा प्रतिष्ठानहरूमा अन्य सक्षम निकायसँग सहकार्य गरी निरन्तर संयुक्त अनुगमन गरिरहेको जनाएको छ ।