काठमाडौं उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी सेवा सुरु

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरी भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित बनाउँदै डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण सेवा सुरु गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा केयूकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि केयूकेएलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ । यसमार्फत केयूकेएलले आईपीएस र आरपीएस चेक प्रणाली प्रयोग गरी तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायत विभिन्न प्रकारका भुक्तानी कारोबार सञ्चालन गर्न सक्नेछ ।

उक्त भुक्तानी केयूकेएलको बैंक खाताबाट सिधै लाभग्राही तथा ग्राहकको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । साथै, आगामी दिनमा अन्य भुक्तानी सेवाहरू पनि क्रमिक रूपमा लागू गर्ने योजना रहेको जनाएको छ ।

एनसीएचएलका भुक्तानी प्रणालीहरूलाई एकीकृत इन्टरफेसका रूपमा ओपन एपीआई अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् । साथै, भुक्तानी सेवा प्रदायक, रेमिटेन्स कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक तथा सरकारी तथा अर्धसरकारी संस्थासहित ११० भन्दा बढी गैर–बैंकिङ संस्था इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले आईपीएस र चेक क्लियरिङ सेवाको प्रयोग गर्न सक्नेछन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाभित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको छ । सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित संस्थाले डिजिटाइजेशन अभियानलाई तीव्रता दिँदै आफ्नो बिलिङ तथा भुक्तानी प्रक्रिया स्वचालित बनाउने पहल थालेको जनाएको छ ।

Share News