काठमाडौं । स्विडेनको भोल्भो कार्सको सेयर बिहीबार २५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । यससँगै कम्पनी इतिहासकै सबैभन्दा खराब एकदिने कारोबारतर्फ उन्मुख भएको छ ।
चीनको जिली होल्डिङ स्वामित्वमा रहेको उक्त अटोमेकरले चौथो त्रैमासिकमा सञ्चालन नाफामा ठूलो गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार अमेरिकी भन्सार शुल्क (ट्यारिफ), मुद्रा विनिमयदरको नकारात्मक असर र कमजोर मागका कारण नाफा घटेको हो ।
भोल्भो कार्सले चौथो त्रैमासिक सञ्चालन आम्दानी १.८ अर्ब स्विडिस क्रोना (झन्डै २००.४६ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले कम हो ।
‘विशेषगरी चीनमा बजार निकै चुनौतीपूर्ण छ, प्रतिस्पर्धा अत्यन्त कडा छ । युरोपका हाम्रा सबै सहकर्मीहरूले पनि यही समस्या भोगिरहेका छन्,’ भोल्भो कारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाकान सामुएल्सनले भने ।
उनले अमेरिका र चीनमा विद्युतीय सवारीसाधन (ईभी) मा दिइँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) हटाइनु पनि ‘बाह्य वातावरणलाई अझै चुनौतीपूर्ण बनाउने’ कारण भएको बताए ।
‘आन्तरिक रूपमा हामीले लागत घटाउने र सकारात्मक नगद प्रवाह सुनिश्चित गर्ने काम निकै राम्रो गरेका छौं । यही नै वर्षभरि हासिल गरेका सबैभन्दा सकारात्मक उपलब्धि हुन्,’ उनले थपे ।
पछिल्लो कारोबारमा भोल्भो कारका सेयर २५.५ प्रतिशतले घटेका देखिएका छन् । एकै सत्रमा ११.२ प्रतिशतभन्दा बढी गिरावट आएमा त्यो कम्पनीको इतिहासकै सबैभन्दा खराब कारोबारी दिन हुनेछ ।
यूबीएसका विश्लेषकहरूले भोल्भो कार्सको नाफा अपेक्षाभन्दा कमजोर रहेकाले सन् २०२६ का लागि ब्याज र कर अघिको आम्दानी (ईबीआईटी) सम्बन्धी वार्षिक अनुमानमा १०–१५ प्रतिशतसम्म कटौती हुनसक्ने बताएका छन् । उनीहरूका अनुसार २०२५ को अन्तिम तीन महिनामा आधारभूत ईबीआईटी मार्जिन झन्डै शून्य प्रतिशत नजिक रहेकाले कटौती अझ बढी हुन सक्ने सम्भावना छ ।
चुनौतीपूर्ण वर्षको संकेत
अमेरिका र युरोपेली संघ (ईयू) ले गत वर्ष जुलाईमा व्यापार सम्झौतासम्बन्धी एक प्रारूपमा सहमति जनाएका थिए । सो सम्झौताअनुसार ट्रम्प प्रशासनले अधिकांश ईयू वस्तुमा १५ प्रतिशतको समान ट्यारिफ लगाएको थियो । यो ट्रम्पले धम्की दिएको ३० प्रतिशतभन्दा धेरै कम हो र युरोपेली अटो क्षेत्रमा लाग्ने ट्यारिफ दरलाई २७.५ प्रतिशतबाट झन्डै आधा बनाएको हो ।
त्यतिबेला उद्योग समूहहरूले सम्झौतालाई सर्तसहित स्वागत गरे पनि नयाँ ट्यारिफका कारण बढ्ने लागतप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए ।
भोल्भो कार्सलाई लामो समयदेखि अमेरिकी ट्यारिफको सबैभन्दा बढी असर झेल्न सक्ने युरोपेली अटोमेकरमध्ये एक मानिँदै आएको छ ।
आगामी दिनतर्फ हेर्दा भोल्भो कार्सले आफ्नो नयाँ तथा पूर्ण विद्युतीय ईएक्स ६० मिड–साइज एसयूभीको डेलिभरी वर्षको दोस्रो अर्धभागमा तीव्र बनाइने जनाएको छ ।
तर कम्पनीले २०२६ पनि चुनौतीपूर्ण वर्ष हुने चेतावनी दिएको छ । निरन्तर मूल्य दबाब, ट्यारिफको असर, नियामकीय अनिश्चितता र उपभोक्ताको कमजोर मनोभावनाले उद्योगलाई थप दबाबमा पार्ने सम्भावना रहेको भोल्भो कार्सको भनाइ छ।