८८ तोला सुनसहित ‘जेलमुक्त’ चोर प्रेम थारु पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले ८८ तोला सुनसहित पक्राउ गरेको छ । सुनका गहना चोरी भएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बाँके घर भएका ४१ वर्षीय सुप्रिम विकास भन्ने प्रेम थारुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार थारुको साथबाट ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला हीरा, विभिन्न देशका मुद्रा तथा करिब ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको चोरीका सामग्री बरामद गरिएको छ ।

थारु यसअघि चोरी अभियोगमै तीन वर्षको कैद सजाय भुक्तान गरी केही समयअघि मात्र जेलमुक्त भएका थिए । उनी यसअघि बौद्ध क्षेत्रमा दुई स्थानमा चोरी गरी पक्राउ परिसकेको समेत प्रहरीको भनाइ छ ।

प्रहरीले उनलाई नागार्जुन नगरपालिका–६, पुरी गाउँस्थित सडक खण्डमा गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ । हाल उनी बाँके, नेपालगञ्ज उपमहानगरपालिका–३ स्थायी ठेगाना भई सितापाइला क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

काठमाडौंका विभिन्न स्थानमा भएका चोरी घटनाबाट पीडित ९ जना व्यक्ति हालसम्म प्रहरीको सम्पर्कमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन् । साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News