काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग स्वरूप २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले विगत वर्षदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै पोखरा–१७ दोबिल्ला, कास्कीस्थित एकेडेमीलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।
बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखा प्रबन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउनु खुशीको विषय भएको बताए । साथै, साहारा क्लबले समाजमा उदाहरणीय तथा प्रशंसनीय कार्य गर्दै आएको भन्दै क्लबका पदाधिकारीहरूको प्रशंसा गरे ।
सहयोगका लागि आभार व्यक्त गर्दै साहारा क्लबका अध्यक्ष थापाले प्राप्त रकम एकेडेमीमा आश्रित बालकहरूको खाजा तथा खानामा खर्च गरिने जानकारी दिए । हाल एकेडेमीमा १५ जिल्लाका ३० जना कठिन तथा विपन्न परिस्थितिका बालकहरू आश्रित छन् । क्लबले उनीहरूको लालनपालन, शिक्षा तथा फुटबल प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । साहारा क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दै आएको छ ।
देशका सातै प्रदेशमा शाखा विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका हाल ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा सञ्चालनमा छन् । 'निरन्तर सहयात्रा' भन्ने नारासहित बैंकले आधुनिक प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत खातामा उच्च ब्याजदरको विशेष योजना पनि सञ्चालन गर्दै आएको जनाएको छ ।