सेयर बजारमा हरियाली : नेप्से २७ अंकले बढ्यो, कारोबार ११ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । दुई दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।

Share News