नेपालमा निट्को टायल्सको उत्पादन शुरू, घरेलु निर्माण उद्योगमा नयाँ अवसर

काठमाडौं । भारतीय ब्राण्ड निट्कोले नेपालमा टायल्सको उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ । बिहीबारदेखि राजधानीको भृकुटिमण्डपमा सुरु भएको एघारौं संस्करणको नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोमा निट्कोले नेपालमा उत्पादित टायल्सको औपचारिक रूपमा बिक्री वितरण सुरु गरेको हो ।

नेपाली बजारमा निट्को ब्राण्डको लोकप्रियतालाई ध्यानमा राख्दै निट्को नेपाल प्रालिले नेपालमै टायल्स उत्पादन र बिक्री वितरण सुरु गरेको हो । यसले नेपाली उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय टायल्स उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

एक्स्पोमा निट्कोका नेपाल निर्मित टायल्सको औपचारिक बिक्री वितरणको सुरुवात गर्दै निट्को नेपालका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले नेपाली उपभोक्तालाई नेपालमै गुणस्तरीय टायल्स उत्पादन गरेर बिक्री वितरण गर्दा खरिद मूल्य कम हुने विश्वास व्यक्त गरे । उनले भने, 'हामीले यसअघि भारतमा निर्मित उत्पादन आयात गरेर बिक्री वितरण गर्दै आएका थियौं । अब नेपालमै निर्मित निट्को टायल्स उपभोक्ताले वही गुणस्तरमा कम मूल्यमा खरिद गर्न सक्नेछन् ।'

यसअघि भारतमा उत्पादित निट्कोका टायल्स तथा मार्बल नेपाली बजारमा लोकप्रिय ब्राण्डका रूपमा स्थापित छन् । सन् १९५३ देखि भारतमा निट्को लिमिटेडले उत्पादन सुरु गरेको यस ब्राण्डका टायल्स, मार्बल र मोजाइक नेपालमा मात्र नभई दक्षिण एशियाली मुलुक तथा विश्वका ६० भन्दा बढी मुलुकमा रुचाइने ब्राण्डमा पर्छन् ।

निट्को नेपाल प्रालिले भारतस्थित निट्को लिमिटेडसँगको जोइन्ट भेञ्चरको रूपमा नेपालमा टायल्स उत्पादन सुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले भने, 'नेपालमा टायल्स उत्पादन सुरु गर्दा उपभोक्तालाई सहजता मात्र प्राप्त हुने छैन, यसले नेपालको उत्पादन उद्योगलाई पनि टेवा पुर्याउने र समग्र अर्थतन्त्रमा योगदान पुग्ने हाम्रो विश्वास छ ।'

साथै, निट्को नेपालले भारतमा उत्पादित गुणस्तरीय मार्बल तथा मोजाइक पनि सुलभ मूल्यमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले देशभर ८० भन्दा बढी डिलर सञ्जालमार्फत आफ्ना उत्पादनहरू उपभोक्तासम्म सहज रूपमा पुर्याउने योजना बनाएको छ । नजिकैको हार्डवेयर पसलबाट पनि निट्कोका उत्पादनहरू सुलभ मूल्यमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।  

Share News