टेलिकमको वार्षिकोत्सवमा विभिन्न विधामा उत्कृष्ट संस्था र कार्यालय सम्मानित

काठमाडौं । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित वार्षिक कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था, कार्यालय तथा सेवाग्राहीलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रादेशिक निर्देशनालय, ठूला कारोबार गर्ने संस्था, रिचार्ज तथा लिज लाइन सेवाका प्रमुख प्रयोगकर्ता तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई चारवटा मुख्य विधामा सम्मान प्रदान गरिएको हो ।

बढी रकमको रिचार्ज कारोबार गर्ने डिलरअन्तर्गत विराटनगरबाट युवा ट्रेड इन्टरनेसनल, वीरगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर, काठमाडौं र पोखराबाट क्यास पे ट्राली, भैरहवाबाट आरसी मार्केटिङ (रूपन्देही), सुर्खेत र नेपालगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर तथा अत्तरिया (धनगढी) बाट केदार मोबाइल हाउस सम्मानित भएका छन् ।

त्यसैगरी, लिज लाइन सेवा प्रयोग गर्ने उत्कृष्ट ग्राहकतर्फ सरकारी संस्थामध्ये सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं तथा निजी संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, दरबारमार्गलाई सम्मान प्रदान गरिएको छ ।

एफटीटीएच मर्मत सेवाअन्तर्गत पहिलो दिनमै उजुरी समाधान गर्ने उत्कृष्ट कार्यालयतर्फ विराटनगर कार्यालयले ९८.०८५ प्रतिशतसहित उत्कृष्ट प्रदर्शन गरेको छ । त्यसपछि नक्साल, काठमाडौंले ९७.४६ प्रतिशत, घनाकोट, पोखराले ९४.४२ प्रतिशत, मंगलापुर, भैरहवाले ९२.५४ प्रतिशत, महेन्द्रनगरले ८६.३३ प्रतिशत, दैलेखले ७९.६६ प्रतिशत तथा सिमराले ७३.८३ प्रतिशत सफलता दर हासिल गरेका छन् ।

नेपाल टेलिकमले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, साझेदार संस्था तथा सेवाग्राहीलाई प्रोत्साहन गर्दै सेवा गुणस्तर अभिवृद्धि र ग्राहक सन्तुष्टि बढाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Share News