काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा सन् २०२५ को वित्तीय संस्थाको विधामा ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको छ ।
सुदृढ वित्तीय प्रदर्शन, सुशासन, सेवा विस्तार तथा संस्थागत व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरेबापत मनोनित वित्तीय संस्थामध्येबाट आइसीएफसी फाइनान्स उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको हो ।
ललितपुरमा आयोजित भव्य समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरेका थिए ।
विभिन्न वित्तीय संस्थाहरूको वित्तीय विवरणको विश्लेषण, प्रमुख वित्तीय सूचकाङ्क, सुशासन अभ्यास, कर्जा प्रवाह तथा असुली अवस्था, चुक्ता पुँजीको स्थिति, व्यवसायिक विस्तारको दिगोपन, मानव संसाधन विकासमा गरिएको लगानी, लगानी विविधीकरण रणनीति तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूको मूल्यांकनका आधारमा कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।
मूल्यांकन समितिका अनुसार पारदर्शी नीति, प्रभावकारी जोखिम व्यवस्थापन, ग्राहक–केन्द्रित सेवा, डिजिटल तथा भौतिक पहुँच विस्तार तथा आम जनमानसमा कायम विश्वासका कारण आइसीएफसी फाइनान्स वित्तीय क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको हो ।
अवार्ड ग्रहणपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले यस सम्मानलाई सञ्चालक समितिको मार्गदर्शन, कर्मचारीहरूको निरन्तर समर्पण, नियामक निकायको सहयोग, सेयरधनीको विश्वास तथा ग्राहकहरूको निरन्तर साथको परिणाम भएको बताए। उनले सबैप्रति हार्दिक आभार व्यक्त गरे ।
साथै, वित्तीय साक्षरता अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन, कर्जा पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ कम्पनी आगामी दिनमा पनि जिम्मेवार र नवप्रवर्तनमुखी वित्तीय संस्थाका रूपमा अघि बढिरहने प्रतिबद्धता जनाएको छ ।