नेपाल-भारत स्टार्टअप सहकार्य विस्तारमा निक्कीको पहल, नवप्रवर्तन संवाद सम्पन्न

काठमाडाैं । नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल-भारत स्टार्टअप संवाद आयोजना गर्दै नीति-निर्माताहरू, नवप्रवर्तन क्षेत्रका अगुवाहरू, सञ्चारकर्मीहरू तथा उदाउँदा स्टार्टअप संस्थापकहरूलाई एकै ठाउँमा ल्याएको छ। उक्त कार्यक्रमले सीमापार उद्यमशील सहकार्यमा महत्वपूर्ण कोशेढुंगा तय गर्ने पनि निक्कीले जनाएको छ।

कार्यक्रममा इन्डिया-नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (इन्स्पान) को पहिलो समूहले सफलता पूर्वक भारतमा गरेको अनुभव तथा उपलब्धिलाई विशेष रूपमा सम्मानित गरिएको थियो। यो कार्यक्रम आइआइटिएम प्रवर्द्धक (आइआइटी मद्रास) को सहकार्य तथा भारत सरकारको परराष्ट्र मन्त्रालय को सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम अन्तर्गत २४ नेपाली स्टार्टअपहरूले आइआइटी मद्रासको नवप्रवर्तन इकोसिस्टममा ८ हप्ते सघन आवासीय कार्यक्रममा सहभागिता जनाउँदै मार्गदर्शन, प्राविधिक सहयोग तथा बजार पहुँचका अवसर प्राप्त गरेका थिए ।

यस समूहको उल्लेखनीय उपलब्धिका रुपमा नौ स्टार्टअपहरूले भारतका अग्रणी इनक्युबेशन प्लेटफर्महरूबाट विशेष लगानी तथा इनक्युबेशन प्रस्ताव प्राप्त गरेका छन् । जसले नेपालको नवप्रवर्तन इकोसिस्टमको बढ्दो सम्भावना र क्षेत्रीय सहकार्यको महत्वलाई स्पष्ट संकेत गर्छ ।

निक्कीका अध्यक्ष सुनील केसीले नवप्रवर्तन र उद्यमशीलतालाई नेपाल-भारत आर्थिक सहकार्यको केन्द्रमा राख्ने प्रतिबद्धता पुनः दोहोर्याए। उनले सीमापार स्टार्टअप साझेदारीहरू क्षेत्रीय प्रतिस्पर्धात्मक बढाउन र युवाद्वारा सञ्चालित आर्थिक वृद्धिलाई गति दिन अपरिहार्य रहेको उल्लेख गरे ।

नवप्रवर्तन क्षेत्रमा निक्कीको बढ्दो भूमिकालाई उजागर गर्दै निक्कीका उपाध्यक्ष कुनाल कायलले नेपाल-भारत आर्थिक सम्बन्धको आगामी चरण निजी क्षेत्रको नेतृत्वमा र नव प्रवर्तनद्वारा प्रेरित हुनुपर्ने बताए । उनले भने, 'यस गतिलाई संस्थागत गर्न हाम्रो समितिले स्टार्टअप इनोभेसन सेन्टर स्थापना प्रक्रियालाई अगाडि बढाइरहेको छ, जसले सम्पूर्ण इकोसिस्टम सरोकारवालाहरूलाई जोड्ने केन्द्रविन्दुको रूपमा काम गर्नेछ ।'

अतिथि मन्तव्य राख्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअपहरूलाई विश्वस्तरीय प्रतिस्पर्धी उद्यममा रूपान्तरण गर्न संस्थागत सहयोग, नीतिगत समन्वय तथा क्षमता विकासका सहयोगको महत्वमा जोड दिए ।

संवादको एक प्रमुख आकर्षण कोहोर्ट रिफ्लेक्सन सत्र रहेको थियो । जहाँ सहभागीहरूले आइआइटी मद्रासको आवासीय कार्यक्रमका अनुभवहरू सबैसँग साटासाट गरे । सहभागीहरूले उच्चस्तरीय प्रयोगशाला पहुँच, लगानीकर्तासँग अन्तरक्रिया, उत्पादन परिमार्जन सहयोग तथा विश्वस्तरीय अभ्यासहरूसँग परिचित हुने अवसरबारे पनि चर्चा गरे। धेरैले यस अनुभवलाई प्रारम्भिक चरणको विकासबाट बजार-तयार नव प्रवर्तनतर्फ अघि बढ्न मद्दत गर्ने महत्वपूर्ण मोडका रूपमा वर्णन गरे ।

निक्कीका उपाध्यक्ष गौरव तयालले सहभागी उद्यमीहरूलाई द्धिपक्षीय साझेदारीका पुलहरूका रूपमा वर्णन गर्दै नेपाल र भारतबीचको नवप्रवर्तन सम्बन्ध सुदृढ बनाउन उनीहरूको भूमिकालाई उल्लेख गरे ।​​​​​​ निक्कीले नेपाल-भारत स्टार्टअप संवाद दिगो उद्योग-शैक्षिक संस्था-सरकार तथा निजी क्षेत्रबीच सहकार्य गर्ने प्रयासको एक चरण भएको जनाएको छ। यसले नीतिगत वकालत, सीमापार साझेदारी तथा पूँजी र प्रविधिमा सुधारिएको पहुँचमार्फत स्टार्टअपहरूलाई समर्थन गर्दछ ।

नेपाली उद्यमीहरूलाई भारतीय नवप्रवर्तन प्लेटफर्महरूसँग जोडेर यस पहलले ज्ञान हस्तान्तरणलाई तीव्र पार्ने, क्षेत्रीय बजार एकीकरणलाई प्रवर्द्धन गर्ने र नेपाललाई प्रविधिमा आधारित उद्यमका लागि उदाउँदो केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य पनि निक्कीले राखेको छ ।

नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) नेपाल र भारतबीच व्यापार, लगानी तथा औद्योगिक सहकार्य सुदृढ गर्न स्थापित एक अग्रणी द्विपक्षीय उद्योग वाणिज्य संस्था हो। यसको स्टार्टअप, नवप्रवर्तन तथा निजी इक्विटीसम्बन्धी पहलमार्फतले नीतिगत सहकार्य, पूँजी प्रवाह र उद्यमशीलतालाई जोड्दै क्षेत्रीय आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्दै आएको छ।

Share News