काठमाडौं । बौद्धबाट १ करोड बढी सुनको गहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिकास्थित महांकालबाट प्रेम थारूलाई प्रहरी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार थारूको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारूले ३० तोला सुन, चाँदीका गहना र सि-माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारूकै संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।
उनी भदौ २३/२४ गतेको जेनजी आन्दोलनमा फरार रहेका थिए । चोरीको अभियोगमा कारागारमा सजाय भोगिरहेका थिए ।